रामपुर नगरको रु ८२ करोड १८ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक

सुशीला रेग्मी/रामपुर (पाल्पा) । रामपुर नगरपालिका पाल्पाको १७ औं नगर सभाले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ । नगर सभाका अध्यक्ष नगर प्रमुख रणबहादुर थापाले सभाको उद्घाटन गरेका हुन् । सभामा नगर उपप्रमुख बालकुमारी थापाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ८२ करोड १८ लाख ६६ हजार ६२१ कुल अनुमानित बजेट पेश गरिन् ।

आयतर्फ संघीय समानिकरण अनुदान १२ करोड २२ लाख, संघीय राजश्व बाँडफाँड १० करोड ६३ लाख ९८ हजार ६२१, संघीय समपुरक (पूंजीगत) ९१ लाख, संघीय विशेष (चालु) ७५ लाख, संघीय ससर्त (चालु) ३५ करोड ११ लाख, संघीय ससर्त (पूंजीगत) २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजश्च बाँडफाँड १ करोड २९ लाख ३७ हजार, प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश ससर्त (चालु) १५ लाख ८ हजार, प्रदेश ससर्त (पूँजीगत) ३ करोड, आन्तरिक स्रोत (अल्याह सहित) १४ करोड गरी जम्मा ८२ करोड १८ लाख ६६ हजार ६२१ रहेको नगर उपप्रमुख थापाले बजेट रहेको जानकारी दिइन् । व्ययतर्फ, चालु बजेट ६० करोड ५० लाख ५८ हजार २०६ (७३.६२%), पूँजिगत बजेट २१ करोड ६८ लाख ८ हजार ४१५ (२६.३८%) रहेको छ ।

नगर सभामा नगर प्रमुख थापाले आगामी आर्थिक वर्षको वार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उज्यालो शहर, रामपुर नगर भन्ने भनाइ आत्मसात् गर्दै सडकबत्ती साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकालाई उज्यालो बनाउन सडकबत्ती जडान गरी बजारको सौन्दर्यकरण गर्ने कार्य साझेदारी तथा सहकार्यमा अगाडि बढाइने, नगरको दीगो विकासका लागि नगर तथा वडा गौरवका योजना, ठुला योजनाहरुलाई प्राथमिकता दिइने, योजना कार्यान्वयनमा नागरिक सहभागिता अभिवृद्धि जस्ता कार्यक्रम रहेको नगर प्रमुख थापाले प्रस्तुत गरे ।

मेयरसँग ज्येष्ठ नागरिक र उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत अण्डा वितरण र पूर्ण संस्थागत सुत्केरीलाई यातायात एम्बुलेन्स फ्री गरिने, वर्तमान समयमा जनसंख्या वृद्धिदर कम हुँदै गइरहेको, शिक्षित तथा कार्यशिल युवाशक्तिको Brain drain, Muscle Drain भइरहेको वर्तमान अवस्थामा नगरको दीर्घकालीन श्रमशक्ति, आर्थिक स्थायित्व र सामाजिक संरचनामा असन्तुलनको जोखिम देखिएको सन्दर्भमा जनसंख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्न नगरपालिकामा स्थायी बसोवास गर्ने नगरबासीबाट आगामी आ.व.बाट ३ (तीन) वा सोभन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो सन्तान वा तेस्रो सन्तान पछिका हरेक सन्तानको नाममा मासिक रुपमा ५०० का दरले बाल बचत खाता स्थापना गरी ५ वर्ष उमेर पुगुन्जेलसम्म नगरपालिकाबाट नियमित रूपमा जम्मा गरिने व्यवस्था लागू गरिने नगर प्रमुख थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उल्लेख छ ।

रामपुरको पहिचान, राम सर्किटको अभियान भन्ने नारालाई आत्मसात् गरी भगवान राम–सीताको क्रिडाभूमि रामपुर क्षेत्रलाई रामायण सर्किटमा आवद्ध गर्न आवश्यक प्रयास गर्दै राम कथासँग सम्बन्धित क्षेत्र, मठमन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरी रामायण सर्किटको विकास गर्न आवश्यक पहल गरिने, यस्तै सिताकुण्ड, रामघाट र राममन्दिरको ऐतिहासिक महिमा बढाउने भौतिक संरचना निर्माण गर्दै विभिन्न प्राचिन, धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु अन्तर्गत राम सिता विवाह पञ्चमी, रामनवमी लगायतका विभिन्न धार्मिक कार्यहरु सञ्चालन गरिने आगामी वर्षको कार्यक्रममा समावेश गरिएको छ ।

कालीगण्डकी नदी डाइभर्सन आयोजनाले गर्दा नगरपालिकाको प्राकृतिक, धार्मिक, सामाजिक र आर्थिक अस्तित्व माथि प्रतिकूल असर पार्ने भएकाले यसलाई अविलम्ब रोक्नका लागि नदी संरक्षणका लागि आवश्यक पहल गरिनेछ । साथै शालिग्राम र कालीगण्डकी नदीको महिमालाई प्रवर्धन गर्न नदी महोत्सव, महास्नान/महाकुम्भ मेला, कालीगण्डकी बचाउ अभियान, कालीगण्डकी पदयात्रा लगायतका कार्यक्रम सञ्चालन तथा कालीगण्डकी जलयात्रा सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने, कालीगण्डकी तटमा पैदलमार्ग तया साइकिलिङ्ग करिडोर निर्माण गरिने कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

स्थानीय उत्पादनको बजारीकरणका लागि उपप्रमुख कोशेली घरबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने, व्यवसाय दर्ता, नवीकरण जस्ता कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गरिने, दर्ता तथा नवीकरण हुन नसकेका व्यवसायिक फर्मलाई निश्चित अवधि तोकी एक पटकका लागि कर छुट तथा सहुलियत प्रदान गरी दर्ता, नवीकरण गरी सञ्चालन गर्न प्रोत्साहन गरिने, नगरपालिकाको आन्तरिक राजस्व परिचालन क्षमता विस्तार गर्न राजस्वको दायरा फराकिलो बनाउँदै लगिनेछ । राजस्व सुधार कार्ययोजना अनुसार राजस्व सङ्कलनका लागि नीतिगत र संरचनागत सुधार गरिने जस्ता कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएको छ ।

कार्यक्रममा नगर सभा सदस्य दामोदर पाठक र दुर्गाप्रसाद पोखरेलले आफ्ना भनाइ राखेका छन् । सभामा लेखा समितिको वार्षिक प्रतिवेदन सदस्य तेजबहादुर राना, अनुगमन तथा सुशासन समितिको वार्षिक प्रतीवेदन संयोजक मोहनबहादुर राना, न्यायिक समितिको वार्षिक प्रतीवेदन संयोजक खेमराज अधिकारीले पेश गरेका हुन् । नगर प्रवक्ता कपिलबहादुर खाँणको स्वागतबाट सुरु भएको नगर सभाको सञ्चालन योजना शाखा प्रमुख बिक्रम बस्नेतले र नगर सभाको १७ औ अधिवेशन आह्वान गरेको पत्रको व्यहोरा सभामा वाचन गरेर प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी गराएका हुन् ।

नगर सभाको विशेष समयमा कपिलबहादुर खाण, दिवाकर देवकोटा, दिनेश आचार्य, तोयानाथ सारु, हरिनाश ढुंगाना लगायतले स्थानीय श्रोत साधनको सदुपयोग, सुरक्षा र उपयोगका सम्बन्धमा आफ्ना धारणा राखेका छन् । नगर सभा सदस्य दुर्गादेवी भण्डारी गौतमले धन्यवाद दिएकी हुन् ।

You might also like

Comments are closed.