जीप तथा बसको भाडा निर्धारण

खोटाङ । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारबाट राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीको जीप तथा बसको भाडा निर्धारण गरिएको छ । यातायात व्यवसायीले यात्रुबाट यसअघि मनपरी असुल्दै आएको भाडा नियन्त्रण गर्दै आगामी दिनमा यातायात भाडामा एकरुपता ल्याउन गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गरेको हो ।

जीपबाट बाक्सिला–काठमाडौंका लागि एकतर्फी जनही दुई हजार ५ सय रुपैयाँ, बाक्सिला–कटारी–धरानका लागि दुई हजार ७ सय रुपैयाँ, बाक्सिला–गाईघाट–धरानका लागि दुई हजार ४ सय रुपैयाँ भाडा निर्धारण गरेको छ । यस्तै बाक्सिला–हुर्लुङका लागि ६ सय रुपैयाँ, बाक्सिला–दिक्तेलका लागि ७ सय रुपैयाँ, बाक्सिला–थर्पुका लागि सय रुपैयाँ, बाक्सिला–आम्बोटेका लागि १ सय ५० रुपैयाँ, बाक्सिला–जालपाका लागि ३ सय ५० रुपैयाँ, बाक्सिला–महुरेका लागि ७ सय रुपैयाँ, बाक्सिला–अर्खौलेका लागि ८ सय ५० रुपैयाँ, बाक्सिला–हलेसीका लागि एक हजार रुपैयाँ भाडा निर्धारण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए ।

यस्तै बाक्सिला–च्यास्मिटारका लागि एक हजार ३ सय रुपैयाँ, बाक्सिला–जयरामका लागि रुपैयाँ एक हजार ४ सय रुपैयाँ, बाक्सिला–हिलेपानीका लागि एक हजार ५ सय रुपैयाँ, बाक्सिला–घुर्मीका लागि एक हजार ६ सय रुपैयाँ, बाक्सिला–रसुवाका लागि एक हजार ५ सय रुपैयाँ, बाक्सिला–गाईघाटका लागि दुई हजार रुपैयाँ, बाक्सिला–बेलटारका लागि दुई हजार २ सय रुपैयाँ र बाक्सिला–कटारीका लागि दुई हजार १ सय रुपैयाँ भाडा तोकिएको जनाइएको छ ।

बसमा बाक्सिला–हुर्लुङका लागि ५ सय रुपैयाँ, बाक्सिला–दिक्तेलका लागि ६ सय रुपैयाँ, बाक्सिला थर्पुका लागि १सय रुपैयाँ, बाक्सिला–आम्बोटेका लागि १ सय ५० रुपैयाँ र बाक्सिला–जालपाका लागि ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा बसमार्फत लामो दूरीको यातायात सञ्चालन भएको छैन ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले भने अहिलेसम्म यातायात भाडादर निर्धारण गरेका छैनन् । यातायात व्यवसायीले आफूखुशी लागू गरेको भाडादर अस्वाभाविकरूपमा बढी भएको यात्रुहरुले गुनासो गर्दै आएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा अहिले यात्रुवाहक यातायातका साधन सञ्चालन भएका छन् । कच्ची सडक भएका कारण हिउँदभर मात्र सञ्चालन हुने यातायातले स्थानीय बासिन्दालाई सेवा दिए पनि भाडामा ठगिने गरेका छन् ।

lcci
You might also like

Comments are closed.