‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’

काठमाडौं । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन्। निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुआत गरेका थिए । भारतको विहारमा हुर्किएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।

नेपालसंग सीमा जोडिएको क्षेत्रमा हुर्किएका झा दोस्रोपटक नेपाल आएका हुन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन झा पहिलोपटक काठमाडौं आएका थिए भने दोस्रोपटक काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी भएर केही दिनअघि भारत फर्किएका छन्।

‘गङ्गाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ चलचित्र निर्देशन गरिसकेका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताए। “व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोसिसु गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो”, निर्देशक झाले भने, “मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु ।”

निर्देशक झा सुरुआती समयमै ‘दामुल’, ‘परिणति’, ‘मत्युदण्ड’जस्ता चलचित्रले प्रशंसा बटुल्न सफल भए। तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको झासित सम्झना छ । ती चलचित्रले उनको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उनले देख्छन् । कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्छन्

“कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ती हो”, उनले भने, “पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समयअनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ”, निर्देशक झाले भने।

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकारे । “मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकी चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ”, उनले भने।

नेपाली चलचित्र र चलचित्रकर्मीसँग नजिक रहेका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताए। यद्दपि, झा नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल छैनन् । नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्नसक्ने विषय भने झा नकार्दैनन्। उनको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्ने गरी काम गरिरहेको जानकारी दिए ।

You might also like

Comments are closed.