लक्षित समूहले खोप नपाएको गुनासो

दमौली । तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् ।

स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताए । “बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए”, उहाँले भन्नुभयो, “लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने ?” उनले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाए ।

स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुङ्गानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिए । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उनले जानकारी दिए ।

”चौँसठ्ठी वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौँ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो”, उनले भने, “स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।”

उनका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहारसमेत भएको छ । “ममाथि हातपात पनि भएको छ, झगडा गर्न आए”, उनले भने, “कोल्डचेन व्यवस्थान नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यदि त्यस्तो भएको भए फेरि मैमाथि गाल पथ्र्यो ।” वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूहबाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उनले स्वीकार गरे । रासस

You might also like

Comments are closed.