अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय

मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङको व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजना छ ।

गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनले बताइन् । “छानो बउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले रु २५ हजार सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ” उनले भनिन् ।

उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । उनले यस वर्ष ६ वटा खसीबोका बिक्री गरेर रु ६० हजार आम्दानी गरेको बताइन् । वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताउँछिन् । उनी भन्भिछन्, “गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।”

jutta mela

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए । इच्छाकामनामा प्रशस्त घाँसे जङ्गल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनले बताएका छन् । बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्नेछ । अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्याउने लक्ष्य रहेको उनले जनाए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताउँछन् । गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले बताए । बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्र्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघि बढ्न मद्दत पुग्ने उनले बताएका छन् ।

गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए । गत आवमा २८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको छ । रासस

You might also like

Comments are closed.