अनलाइन पत्रकार संघद्वारा वेभसाइट शुभारम्भ तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ मंगलबार सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट स्वास्थ्य सामाग्री खरिद गरिएको हो ।

सो अवसरमा मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि सार्वजनिक गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री गुरुङले कोरोना महामारीको असरले पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको बताए । कोभिड १९ नियन्त्रण भन्दा बाहिर गएको र अब आफै सुरक्षित रहनुपर्ने आवश्यकता औल्याउदैं कोरोनालाई व्यवहारिक ढंगले नियन्त्रणमा लैजानुपर्ने उल्लेख गरे ।

स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या बेहोर्नुपरेको बताउँदै कोभिडका कारणले यतिबेला सबैको समस्याको रुपमा रहेको र चिकित्सकहरु समेत खटिन नमान्दा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा स्वयंले आफ्नो ध्यान पुर्याउनुपर्ने बताए। उनले भने–“शत्तिशाली देशमा पनि संक्रमित सबैले अस्पतालमा बस्न नपाएको भन्दै अस्पताल भर्ना हुने अवस्था नहुँदा सम्म घरमै सुरक्षित तवरले आइसोलेसनमा बस्न उनको आग्रह छ ।” गण्डकी प्रदेश सरकार कोरोना रोकथामकै बाटोमा हिंडिरहेकोले सबै मिलेर कोरोनालाई परास्त गर्नुपर्ने बताए ।

प्रदेश सरकारले केही समय अगाडि सुचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा अगाडि बढाइने मन्त्री गुरुङले बताए । उनले भने–“अहिले हामीले शुरुवात गरेका हौं, गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो, सबैको साथ सहयोगबाटै लोककल्याणकारी विज्ञापनलाई सफल बनाउनेमा प्रदेश सरकार छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.