नयाँ धान खरिदमा उदासीनता देखाएपछि किसान मर्कामा

झलनाथ खनाल÷भजनी  ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिदमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका छन् ।

कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । कैलालीको करिब १५ बिघा क्षेत्रफलमा गरिएको धानखेतीबाट उत्पादन भएको २५० क्विन्टल धान कम्पनीले खरिद नगरेको टीकापुर नगरपालिका–८ का भीमबहादुर महरले बताए ।
कम्पनीले धान खरिद नगर्दा अहिले उक्त परिमाणको धान घरको आगनमै रहेको उनको भनाइ छ ।

धान रोप्ने समयमै सरकारले धानको मूल्य निर्धारण गरेपछि महरले सस्तो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गरेनन्। अहिले कम्पनीले धान लिन छोडेपछि महरलाई ठूलो समस्या भएको छ । एकातिर आकाशमा बादल आउँदा पानी आएर धान बिग्रने चिन्ता छ भने अर्कोतिर कम्पनीले धान नलिँदा लगानी नै नउठने हो कि भन्ने चिन्तामा उनि छन् । “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा धान बिक्रीको कुरा गर्दा भोलि–भोलि भन्दै टार्दै आएका छन्”, उनले भने, “वर्षभरीको लगानी पनि नउँठ्दा किसानको काम गर्ने जागर पनि मर्दै गएको छ ।”

jutta mela

टीकापुरका अर्का किसान धनसिंह साउदले ३० बिघा क्षेत्रफलमा धानखेती गरेका थिए । उनले ३०० क्विन्टल धान बिक्री गरेपनि अझै करिब ३०० क्विन्टल बिक्री गर्न बाँकी नै छ । जिल्लाको टीकापुरस्थित कम्पनीको गोदाममा धान बिक्री गर्नु भनेको ठूलो युद्ध जित्नुजस्तै भएको उनको भनाइ छ । “गोदामले कहिले बोरा अभाव देखाउँछ त कहिले कर्मचारीको अभाव”, किसान साउदले भने, “अहिले किसान रुनु न हास्नुको अवस्थामा पुगेका छन् । कतिपयले त बाहिर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नसमेत थालिसकेको छ ।”

“दिनभर लाइनमा पर्खेर धानमा काटा लगाउने समयमा कुनै न कुनै कमजोरी देखाएर किसानलाई फिर्ता गर्ने गरेको छ”, अर्का किसान सुन्दर चौधरीले भने, “कुपन लिएर दिनभर लाइनमा बसेँ काटा लगाउने बेला फिर्ता गर्यो । त्यही धान लिएर घर फिर्ता जानु पनि भएन । अन्तिममा बजारमा दुई हजार २०० मा धान बिक्री गरेर घर गएँ ।” कैयौं किसानले कम्पनीकै कारण ठूलो सास्ती पाएको बताउँदै स्थानीय तहले धान खरिदको काम गरेको भए किसानलाई ठूलो राहत महसुस हुने थियो,उनले भने ।

खाद्य गोदाम टीकापुरका प्रमुख चेतमान कठायतले गोदाम अभावका कारण धान खरिदमा समस्या हुँदै आएको बताए । उनले गोदाम खोज्दै धान खरिद गर्दै आएको बताउँदै ६० नम्बर सम्मको कुपन वितरण गरिएको र ती किसानको धान खरिद गरिसकेपछि मात्र अन्य किसानलाई कुपन वितरण गरिने जानकारी दिए । “हामीसँग सीमित स्रोतसाधन छ । त्यही अनुसार काम गर्नु पर्दा ढिलो भएको हो”, प्रमुख कठायतले भने, “किसानको सबै धान कम्पनीले खरिद गर्छ । तर ढिलो हुन सक्छ ।” उनले केही समय बोराको अभाव भएका कारण पनि धान खरिदमा समस्या आएको उल्लेख गर्दै अहिले बोरा उपलब्ध भए पनि गोदामको अभाव हुन थालेको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिल श्रेष्ठले जनशक्ति अभावकै कारण धान खरिदमा समय लागेको बताए । उनले अघिल्लो वर्षसम्म बजार र कम्पनीको धान खरिद दरमा फरक नहुँदा किसानले बजारमै धान बेच्ने गरेको बताउँदै यस वर्ष कम्पनीको मूल्य बढी भएकाले यसतर्फ किसानको आकर्षण बढेको बताए । जनशक्ति अभावकै कारण दैनिक एक हजारदेखि एक हजार २०० क्विन्टलसम्म मात्रै धान खरिद गर्न सकिएको उनको भनाइ छ । “हाम्रो लक्ष्य ६५ हजार क्विन्टल धान खरिद गर्ने हो । सोमबारसम्म हामीले २७ हजार ५०० क्विन्टल धान खरिद गरिसकेका छौं”, प्रमुख श्रेष्ठले भने, “गोदामको व्यवस्थापन छैन । खरिद गरेर मात्र भएन भोलि खपत पनि हुनुपर्यो । त्यो भन्दा बढी धान खरिद गर्न सक्ने क्षमता हामीसँग हाललाई छैन ।”

प्रमुख श्रेष्ठका अनुसार गत वर्षको २४ हजार क्विन्टल चामल अहिले पनि स्टक हामीसँग छ । भारतबाट सस्तोमा चामल आउने हुँदा बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको भनाइ छ । उनले खरिद मात्र गरेर नहुने भन्दै खपत गर्न पनि चुनौती देखिएको बताए । “अहिले खरिद गरेको धानबाट चामल बिक्री गर्दा ५० रुपैयाँ प्रति किलो पर्न जान्छ । बजारमा प्रतिकिलो ४२÷४३ रुपैयाँमा चामल उपलब्ध छ”, प्रमुख श्रेष्ठले भने, “अहिले पनि हामीले प्रति क्विन्टल चार हजार ८०० रुपैयाँमा चामल बेच्नुपर्ने बाध्यता छ । बजारमा चार हजार ५०० रुपैयाँमा चामल उपलब्ध छ ।

अब पाँच हजार भन्दा कममा बिक्री गर्न सकिने अवस्था छैन । सरकारले मूल्य समायोजनको लागि भूमिका खेल्नुपर्ने देखिन्छ । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले मोहनपुर, जोशिपुर, भजनी र टीकापुरबाट धान खरिद गर्दै आएको छ । सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्दै आएको छ । सरकारले मोटो धान प्रति क्विन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ ।

You might also like

Comments are closed.