प्रतिभा माविमा स्पोर्टस् मीट सुरु, गर्विलो इतिहासले प्रतिभा प्रतिष्ठित रहेको भनाइ

पोखरा । पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको ‘स्पोर्टस् मीट २०७८’ आइतबार सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्सनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।

कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टका २८ सेक्सनमा गरी १ हजार २ सय ५८ विद्यार्थी अध्ययनरत छन् । उच्च माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका कारण धेरै विद्यार्थीको रोजाईमा प्रतिभा मावि परेको हो ।

आइतबार एक समारोहका बीच विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थी एरिना पुर्जा पुनलाई बास्केटबल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे । प्रबन्ध निर्देशक थापाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको बताए । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।

प्लस टु निर्देशक किरण सापकोटाले प्रतिभाको गर्विलो इतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । यस वर्ष कक्षा १२ को विज्ञान संकायमा सुप्रिया मल्लले ३.८५ जीपीए ल्याई कास्की जिल्लामा सर्वाेत्कृष्ट हुन सफल भएको र व्यवस्थापनतर्फ ३.७९ जीपीए ल्याई सिमरन थापा सर्वाेत्कृष्ट हुन सफल भएकाले विद्यार्थीद्वयलाई आधा तोला सुन र १० तोला चाँदीसहितको प्रतिभा रत्न अवार्डले पुरस्कृत गर्ने जानकारी दिए ।

वार्षिक खेलकुद कार्यक्रम संयोजक प्रेम शर्माका अनुसार स्पोर्टस् मीटमा छात्र÷छात्रा बास्केटबल, छात्र÷छात्रा भलिबल, छात्र फुटसल, सिंगल÷डबल छात्र÷छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । उनका अनुसार हिसान मिटमा छात्रा बास्केटबलतर्फ प्रथम हुन सकेको प्रतिभाले टेबलटेनिस र ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए भने स्वागत विद्यार्थी विपिन सुवेदीले गरे ।

विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ । मानवीय विपद्मा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको थियो ।

You might also like

Comments are closed.