लुम्बिनीमा वर्षाको प्रभाव : नदी आसपासका बस्ती उच्च जोखिममा

रुपन्देही । लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । राप्ती नदीमा पानीको सहत बढेपछि बाँके र दाङका दर्जनौँ बस्ती जोखिममा छन् । बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

नगरप्रमुख शिवराज सुवेदीले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना सङ्कलनका लागि खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

jutta mela

गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पाल्पास्थित रुद्रबेनी जलमापन केन्द्रले बढीगाडमा पानीले जलसतहले सतर्कता तह पार गरेकाले बाढी आउने सम्भावना बढेको महाखाले जनाएको छ ।

वर्षासँगै हिजोदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझैसम्म खुल्न सकेको छैन । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरङ्गे नजीकै डाइभर्शन गरेको सडक भाँसिएपछि बुटवल– नारायणगढ सडक बन्द भएको हो ।

यस्तै अविरल वर्षासँगै खसेको पहिराका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो ।

मङ्गलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान शुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । मङ्गलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।

यसैगरी लगातार परेको वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको सङ्गमस्थल दुई मुहानदेखि तीन किलोमिटर तल रहेको उक्त गाउँमा मङ्गलबार राति बाढी पसेको हो ।

घरहरुमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकालाई उद्वार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा खटेको छ । सो टोलीले दुईदिने सुत्केरीसहित सात जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनियाँ, चिनक धुनियाँ, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह र जगतपाल मल्लाहको घरमा पानी पसेको वडाध्यक्ष रमेशप्रसाद निसादले जानकारी दिए । डुबानमा परेकामध्ये केहीले छिमेकीको घरमा र केहीले सामुदायिक बीउ भण्डार लगायतका स्थानमा आश्रय लिएका छन् ।

You might also like

Comments are closed.