यस्तो छ राष्ट्रपति उम्मेदवार पौडेलको जीवनी

कृष्ण न्यौपाने, दमौली । नेपाली काङ्ग्रेसले राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी) केन्द्र लगायत आठ दलको समर्थनमा वरिष्ठ नेता पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने भएका हुन् ।

नेपाली काङ्ग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन भने आगामी फागुन २५ गतेका लागि तोकिएको छ ।

वरिष्ठ नेता पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । पौडेलले कुल खसेको ६६ हजार एक सय ५८ मत मध्ये २५ हजार तीन सय १८ मत प्राप्त गरेका थिए ।

पौडेल छैटौ पटक संसदमा प्रवेश गरेका हुन् । वरिष्ठ नेता पौडेलले यसअघि विसं २०४८ सालमा साविकको तनहुँ-१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । नेपाली काङ्ग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।

विसं २०४० सालमा पौडेल नेपाली काङ्ग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बनेका थिए । विसं २०४४ सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पौडेल २०४८ सालमा तनहुँ–१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् । उनले सभामुखको जिम्मेवारी पनि निभाएका छन् । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् । रासस

You might also like

Comments are closed.