बागलुङ–कुश्मीशेरा सडक कालोपत्र

कुश्मीशेरा । लामो समयदेखि सर्वसाधारणको चासोमा रहेका बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रको काम शुरु भएको छ । स्तरोन्नतिको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्र विछ्याउन शुरु गरेको हो । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्ड कालोपत्र हुँदैछ ।

गण्डकी प्रदेश सरकारको लगानीमा यो सडक कालोपत्र हुन थालेको हो । “पाग्जामा प्राइमकोट (अलकत्रको घोल) हाल्ने काम सकिएको छ, अब पहिलो चरणको कालोपत्र हुन्छ”, एमएस प्यासेफिक कर्ण विल्डर्सका साईड सुपरभाइजर सन्दिप श्रेष्ठले भने, “तीन चरणमा काम हुने भएकाले डेढ महिनामा सकिन्छ ।”

यो सडक ट्र्याक खुलेको दुई दशकपछि कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज हुनेछ । अहिले सडकमा सवारीको आवागमन रोकेर प्राइमकोट विछ्याउने काम भइरहेको छ । “पहिलो चरणको प्राइमकोट राखेपछि सवारी चल्न दिन्छौं”, उनले भने, “प्राइमकोट (अलकत्रको घोल) नसुक्दासम्म धुलोले असर गर्ने भएकाले वैकल्पिक सडकबाट सवारी पठाइएको छ ।”

jutta mela

पहिलो चरणमा बागलुङ नगरपालिका–१३ पाग्जादेखि वडा नं १४ को पानी ट्याङ्कीसम्मको काम सकिने छ । दोस्रो चरणमा पानी ट्याङ्कीदेखि वडा नं १२ को सरङ्गेसम्मको काम सकिने उनले बताए । २०७५ असारमा बोलपत्र प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेदेखि शुरु भएको थियोे ।

मालढङ्गाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ सालमा कालोपत्र भएको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रको काम शुरु भएको हो । पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघिनै कालोपत्र भइसकेको छ । भौतिक पूर्वाधार मन्त्रालयको रु २६ करोडको लगानीमा यो सडक कालोपत्र हुँदैछ ।

२०७८ साल असोज मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले पाँच महिना पहिले नै काम सक्नेगरी धमाधम काम गरिरहेको हो । “अब अवरोध छैनन्, दुई महिनाभित्रै हस्तान्तरण गर्छौं”, श्रेष्ठले भने, “कोरोनाको अवरोध नभएको भए धेरै पहिला हस्तान्तरण हुन्थ्यो ।”

सडक स्तरोन्नतिको काम दुई महिना पहिलै सकिएको भए पनि कालोपत्रका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खनु परेको थियो । सडकमा कालोपत्र विछ्याउन थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडकखण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडकखण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्कसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआइडिपी, कहिले ड्रिलीप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो ।

You might also like

Comments are closed.