पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा पाउने भएका छन् ।
पहिलो चरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ महानरपालिकाको २ करोड ५५ लाख १५ हजार ७०० रुपैयाँ र नेपाल खानेपानी संस्थान, पोखरा शाखाको ८६ लाख सात हजार ७७८ रुपैयाँको लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।
पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाइपलाईन विस्तार गरी लिफ्टिङ प्रविधिबाट सराङकोटमा जम्मा गरी वितरण गर्न लागिएको हो । सो खानेपानी योजनाको शनिबार शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासीलाई पु¥याउने लक्ष्यअनुरुप योजना अघि बढाइएको बताए ।
“जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो”, प्रमुख जिसीले भने,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्वार प्रणाली आवश्यक छ ।”
पोखरा महानगरपलिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडाभित्र लामो समयदेखि स्थानीयवासीले भोग्नुपरेका खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गरे ।
नेपाल खानेपानी संस्थानका प्रतिनिधि वसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पु¥याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिए ।
सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं। १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।
सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई पानीट्याङकीबाट ८।९२ किलोमिटर वितरण लाइन विस्तार गरिने उनले जानकारी दिए।
महानगरपालिकाअन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सक्ने गरी संस्थानको पराजुली, सावित्री नौघरे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । प्रदेश सरकारले शुरु गरेको ‘एक घर : एक धारा’ अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।
Comments are closed.