उत्पादन बढाउन माटोको जाँच

जाजरकोट । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो ।

जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खनेर ५ सय ग्राम माटो निकाली शिविरमा जाँच गरिएको छ । उनले भने, “माटोको अवस्था पत्ता लगाई कृषकलाई सोहीअनुसारको सल्लाह दिइरहेका छौँ, सधैँ आयात गरेको अन्न र फलफूल मात्र खाएर हुँदैन, आफैँ पनि आत्मनिर्भर बन्नुपर्छ ।”

जाँचपछि माटोको अम्लीयपनबारे जानकारीसँगै सोहीअनुसारको जात सिफारिस गर्न सजिलो हुने बुढाको भनाइ छ । मुड्केचुलामा स्याउ, ओखर, अमिलोलगायतका फलफूल बढी उत्पादन हुन्छ ।

वर्षेनी घट्दै गएको उत्पादनलाई माटो जाँच गरी बढाएर नतिजामुखी बनाउनका लागि सो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । यहाँको मुख्यबाली मकै र गहुँ हो । पछिल्लो समय गाउँपालिकाले फलफूल खेतीमा जोड दिएको छ ।

You might also like

Comments are closed.