मान्छे र चौँरीको पिरती जोड्दै चौँरी महोत्सव

रवीन्द्र काफ्ले/पाँचथर । विश्वका १६ वटा देशमा मात्रै पाइने चौँरी आम मानिसको सम्पर्कबाट निकै टाढा हुन्छ । चौँरी निश्चित तापक्रम भएका उच्च पहाडी र हिमाली भेगमा मात्रै पाइन्छ, जहाँ सबै मानिस पुग्न सक्दैनन् । त्यसैले मान्छे र चौँरीको सम्बन्ध निकै टाढा हुन्छ । यही नजोडिएको सम्बन्धलाई जोडेर पिरती गाँस्दै चौँरीको जगेर्नामार्फत पर्यटन विकास गर्ने उद्देश्यले पाँचथरमा चौँरी महोत्सव सम्पन्न भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–४ तीनसिमाना क्षेत्रमा नयाँ वर्षको अवसर पारेर हिजो चौँरी र चौँरीजन्य सामग्रीको प्रदर्शनी गरी महोत्सव सम्पन्न भएको हो ।

नेपालका विभिन्न स्थानसहित भारतको सिक्किम र भूटानबाट ल्याइएका विभिन्न प्रजातिका चौँरी प्रदर्शनीमा राखिएका थिए । महोत्सवमा चौँरीमा चढ्न पर्यटकको भीड लागेको थियो । पहिलो पटक गरिएको याक तथा चौँरी चढ्ने व्यवस्थाले धेरै आन्तरिक पर्यटक खुशी भएका थिए । गोठबाट महोत्सवस्थलमा भेला पारिएका दर्जनौँ चौँरीसँग तस्वीर लिन तथा नजिक पुग्न महोत्वसमा सहभागी प्रयासरत थिए । पहिलो पटक याकमा चढ्ने अवसर पाएका फालेलुङ–२ का नन्दकुमार आङ्थुपो लोपोन्मुख अवस्थामा पुगेको चौँरीसँग पर्यटकको सम्बन्ध विस्तारमार्फत आयआर्जन वृद्धि र पर्यटन विकासमा लाग्नुपर्ने बताउछन् ।

फालेलुङ गाउँपालिकाको सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्या–पर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । पर्यटकीय दृष्टिले निकै आकर्षक क्षेत्रका रुपमा रहेको तीनसिमानामा आयोजित महोत्सवमा नेपाल र भारतबाट हजारौँ पर्यटक पुगेका थिए । महोत्सवमा चौँरीको घ्यू, छुर्पीसहित खाद्य परिकार, चौँरीका रौँबाट निर्माण गरिएका टोपीलगायतका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए ।

jutta mela

चौँरीका माध्यमबाट पर्यटन विकास गर्ने, यहाँको चौँरीपालनलाई विश्वसामु चिनाउने र यसलाई व्यवस्थित गर्दै लैजाने उद्देश्यले महोत्सव आयोजना गरिएको कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाका अध्यक्ष चन्द्रलाल नेपालको भनाइ छ ।

चौँरीपालकको दीगो आम्दानीका लागि चौँरी गोठमा पर्यटकलाई बसोबासको व्यवस्था गर्न ‘गोठबास’ निर्माण थालिएको छ भने चौँरीपालकलाई वातावरण तथा जैविक विविधता संरक्षणमा सचेत तुल्याइँदै आएको छ । महोत्सवले यस्ता प्रयासलाई अझै सवल बनाउने आयोजकको विश्वास छ ।

चौथो पटक फालेलुङ गाउँपालिकामा यो महोत्सव आयोजना गरिएको हो । महोत्सवलाई गाउँपालिकाले मात्रै नभई मुलुकले पहिचानका रुपमा अगाडि बढाउनुपर्ने गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको माग छ । “चौँरीपालनको दीगो व्यवस्थापन गर्दै यहाँ पर्यटन विकासमा लाग्नुपर्ने आवश्यकताले महोत्सव आयोजना गरेर सङ्घीय सरकारलाई घच्घच्याइरहेका छौँ”, अध्यक्ष केरुङले भने, “समग्ररुपमा यस क्षेत्रको विकास र स्थानीयवासीको आयआर्जन बढाउन सबैको सहयोग आवश्यक छ ।”

फालेलुङ–४ का चौँरीपालक श्रीप्रसाद रिजाल गोठको व्यवस्थापन, चौँरीबाट उत्पादित सामग्रीको राम्रो मूल्य तथा सहुलियत ऋणका लागि सरकारले सहयोग गर्नुपर्ने माग गर्छन् । “महोत्सवले यहाँ हामीले चौँरी पालेर देशको सिमानाको रक्षा र पर्यटक आउने वातावरण बनाइरहेका छौँ भन्ने सन्देश दिने गरेको छ”, रिजालले भने, “अब सरकारले पनि उचित सहयोग गर्नुपर्छ ।” याङवरक गाउँपालिका–१ का चौँरीपालक किपा भुटिया आफूहरुले दुःख गरेअनुसार सरकारले चौँरीको संरक्षणमा सहयोग गर्नुपर्ने बताउछिन् ।

महोत्सव आयोजक शिल्प साम्पाङ महोत्सवले चौँरीको संरक्षणमा सरकारको ध्यान गएको र अन्तरराष्ट्रियस्तरसम्म सन्देश पुगेको बताउछिन् । महोत्सवले दिएको सकारात्मक परिणामअनुसार महोत्सव वर्सेनी गर्दै जाने आयोजकको लक्ष्य छ ।

महोत्सवमा सहभागी हुन आएका प्रदेश १ योजना आयोजका सदस्य डा पूर्ण लक्सम नवीनत प्रविधिबाट पर्यटन प्रवद्र्धन गर्न चौँरी महोत्सव महत्वपूर्ण कदम भएको बताउछन् । “विशेष प्रकृतिका प्रयासबाट पर्यटन प्रवद्र्धन गर्ने अन्तरराष्ट्रिय अभ्यासअनुसार यो महोत्सव एकदमै अनुकरणीय काम हो”, डा लक्समले भने, “यसले अन्तर्राष्ट्रिय क्षेत्रमा जैविक, वातावरणीय, प्राकृतिक सम्पदालाई प्रचारमा लैजान र पर्यटक भित्र्याउन सहयोग गर्छ ।” पश्चिमा पर्यटक पर्या–पर्यटनमा रमाउने भएकाले यसप्रकारका महोत्सवले पर्यटन विकासमा ठूलो योगदान दिनसक्ने डा लक्समको भनाइ छ ।

महोत्सवमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चौँरी महोत्सव र चौँरीको संरक्षणका विषय अब स्थानीयवासी र स्थानीय तहको मात्रै नभएको बताए । “यहाँका थुम्का–थुम्कामा पर्यटक राख्ने र आम्दानी गर्ने स्थिति बनाउनुपर्छ”, नेम्वाङले भने, “यसका लागि सडक र हिल स्टेशन निर्माणका योजना कार्यान्वयनको चरणमा गइसकेका छन् ।” पर्यटकको आकर्षणअनुसार चौँरीको सङ्ख्यालाई बढाउन सरकारीस्तरबाट पहल थालिने आश्वासन दिँदै मन्त्री नेम्वाङले विश्वबाट चौँरी खोज्न फालेलुङ आउने अवस्था बनाउनु नै देशको हितमा हुने बताए । गाउँपालिकामा विसं २०७५ बाट चौँरी महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सवमा चौँरी प्रदर्शनीमा राखी उत्कृष्ट बनेका कृषक किपा भुटिया, श्रीभक्त राई र राजकुमार राईलगायतलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.