उम्मेदवारी दर्ताका लागि दलहरु जुलुशसहित जाने तयारीमा

सन्देश श्रेष्ठ
पोखरा । उपनिर्वाचन अन्तर्गत मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को निर्वाचनका लागि दलहरुले बिहीबार उम्मेदवारी दर्ता गर्दैछन् । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की २ मा हुने चुनावका लागि ठूलादेखि साना दलहरुले शक्ति प्रदर्शन गर्ने हेतुले दलबलसहित गएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको निर्वाचन हुने कास्की २ मात्र भएकाले पनि दलहरुले यसलाई मिनी जनमत संग्रहका रुपमा लिदै प्रतिष्ठाको विषय बनाएकाले शक्ति प्रदर्शनलाई पनि जोड दिएका हुन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि पूर्वाह्न १० बजेदेखि अपराह्न ५ बजेसम्मको समयसीमा तोकेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दलबलसहित उम्मेदवारी दर्ता गर्न जाने बताएको छ । रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेद्वार बनाएको नेकपाले पूर्वाह्न ११ बजे उम्मेदवारी दर्ता गर्न जाने बताएको छ । उम्मेद्वार विद्यालाई अगाडि लगाएर जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने नेकपाका चुनावी कमाण्डर तथा नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय नयाँबजारबाट शुरु हुने जुलुश पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्कहुँदै निर्वाचन कार्यालयमा पुगेर उम्मेद्ववारी दर्ता गर्नेछ । उम्मेदवारी दर्ताका लागि जानुअघि नेकपाले विहान निर्वाचन कार्यालय स्थापना गर्ने नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

jutta mela

नेपाली कांग्रेसले पनि दलबल सहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसले उम्मेद्वार खेमराज पौडेललाई अगाडि लगाएर जुलुशसहित उम्मेदवारी दर्ता गर्ने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार जुलुश पोखरा सभागृहबाट पूर्वाह्न १० बजे शुरु हुनेछ । जुलुश सभागृहचोक, सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्क हुँदै निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेर फर्किने सभापति केसीले बताए । जुलुशमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागि हुनसक्ने बताइएको छ ।

समाजवादी पार्टीले पनि पोखरा सभागृहबाटै जुलुश निकालेर उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको छ । इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेद्वार बनाएको समाजवादी पार्टीले पूर्वाह्न ११ बजे पोखरा सभागृहबाट जुलुश निकालेर सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्कहुँदै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको समाजवादी पार्टीका चुनावी कमाण्डर हुमबहादुर तमुले जानकारी दिए ।

साझा पार्टीले पनि जुलुशसहित उम्मेदवारी दर्ता गर्ने बताएको छ । तर अभद्र किसिमको तमासा नदेखाई सामान्य खालको जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको साझा पार्टीकी उम्मेद्वार रजनी केसीले बताइन् । हाम्रो पार्टी सुसंस्कृत राजनीति गर्ने पार्टी हो, ‘हामी तडकभडक गर्दैनौं, तर स्वतःस्फूर्त आएकालाई लिएर उम्मेदवारी दर्ता गर्न जान्छौं ।’

राप्रपाले पृथ्वीचोकबाट जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने बताएको छ । पृथ्वीनारायण शाहको नामबाट राखिएको चोक भएकाले त्यहिंबाट उम्मेदवारी दर्ता गर्न जाने राप्रपाले तयारी गरेको हो । रोमबहादुर भण्डारीलाई उम्मेद्वार बनाएको राप्रापले पार्टीका केन्द्रीय अध्यक्ष कमलबहादुर थापाको नेतृत्वमा बाजागाजासहितको जुलुश लिएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको राप्रपाका नेता सूर्य बास्तोलाले जानकारी दिए ।

विवेकशील नेपालीले भने उम्मेदवारी दर्तालाई सरल बनाउने भनेको छ । उसले जुलुश र ¥याली बिना नै उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको हो । विवेकशीलले पूर्वाह्न १० बजेदेखि ११ बजेको बिचमा सिधै निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्न जाने र त्यहाँ स्वतःस्फूर्त भेला हुनेलाई सहभागी गराउने भएपनि कसैलाई पनि बोलावट भने नगरिएको विवेकशील नेपाली पार्टी कास्कीका सचिव सञ्जीव भट्टराईले जानकारी दिए । विवेकशीलले द्वन्द्व पीडित परिवारका जमुना शर्मा सुबेदीलाई उम्मेद्वार बनाएको छ ।

You might also like

Comments are closed.