पर्वत र बागलुङ जोड्ने संसारकै लामो झोलुङगे पुल, यस्ता छन् विशेषताहरु

काठमाडौं । पर्वत जिल्लाको पाङलाई बाग्लुङ जिल्लाको सदरमुकामसँग जोड्ने झोलुङगे पुलको निर्माण सकिएको छ । निर्माण सम्पन्न भएको संसारकै लामो उक्त झोलुङगे पुलले त्यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज बनाउने विश्वास गरिएको छ ।

स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको निर्माण गरिएको हो । उक्त झोलुङ्गे पूलकोे निर्माणसँगै झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढेको छ । पदयात्री हिँड्ने संसारकै लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला पनि बनेको छ पर्वत र बागलुङ ।

झोलुङ्गे पूलको भारबहन क्षमता एक पटकमा ६१२ पदयात्री छ । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको लम्बाई ५६७ मिटर छ । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूल संसारकै सबैभन्दा लामो भनिएको पदयात्री हिँड्ने झोलुङ्गे पूल स्विट्जरल्याण्डको ४९४.०० मिटर लामो चाल्र्स कुओन पेडेस्ट्रेन ब्रिज भन्दा ७३.०० मिटर लामो छ ।

jutta mela

सस्पेन्सन बृज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारको झोलुङ्गे पूलहरुको निर्माण गर्ने जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आएको सस्पेन्सन बृज डिभिजनले हालसम्म निर्माण गरेको झोलुङ्गे पूल भन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पूलको आफ्नै जनशक्ति मार्फत् सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो ।

उक्त झोलुङ्गे पूल निर्माण गर्दा डिभिजनलाई चुनौति र अवसर दुवै रहेको बताउँछन् सस्पेन्सन ब्रिज डिभिजन प्रमुख ई. कुमार थापा । ‘झोलुङ्गे पूल निर्माण गर्दा प्राबिधिक दृष्टिकोणबाट सम्भव नहुन पनि सक्छ भन्ने र लठ्ठा तान्ने प्रबिधि नयाँ भएकाले सो प्रबिधिबाट लठ्ठा तान्न सफल हुने नहुने भन्ने द्विविधा थियो,’ उनले भने, ‘अर्कोतर्फ यस प्रकृतिका लामो झोलुङ्गे पूलको निर्माण हालसम्म नभएकाले सो झोलुङ्गे पूल निर्माण सहज भएमा थप यस्ता प्रकृतिका झोलुङ्गे पूल निर्माण गर्न अवसर प्राप्त हुने अवस्था थियो ।’

पूल निर्माणको क्रममा लठ्ठा तान्ने कार्यलाई विशेष चुनौतिको रुपमा लिईँदै आएकोमा डिभिजनबाट विन्च मेसिन खरिद गरी लठ्ठा तान्ने प्रविधि भित्र्याएपछि उक्त झोलुङ्गे पूलको निर्माण कार्य सम्भव भएको थापाले बताए । ‘उक्त प्रकृतिको लामो झोलुङ्गे पूलकोे निर्माण सफल भएसँगै डाँडाकाँडा, नदिनाला, अग्ला पहाड, खोँचले भरिएको नेपालको भुगोलभित्र दुरदराजमा रहेका नागरिकहरुको आवतजावत र सेवासुविधाको पहँुच सम्भव हुनेछ,’ उनले भने, ‘यस झोलुङ्गे पूल निर्माण अनुभवले विशिष्ट प्रकृतिको झोलुङ्गे पूल विकास, विस्तारमा थप टेवा पुग्ने विश्वास छ ।’

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी थानी÷बि.एल.टि.÷हिमशिखर जे.भी. सँग २०७५ फागुन २१ मा सम्झौता भएको थियो । उक्त झोलुङ्गे पूलको शिलान्यास राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले २०७६ वैशाख १ गते गरेका थिए । शिलान्यास भएको १५ महिनामा पुल निर्माण सकिएको थापाले जानकारी दिए ।

झोलुङ्गे पूलकोे निर्माणका लागि १२ करोड २२ लाख १८ हजार ९ सय ५७ रुपैयाँ लाग्ने अनुमान गरिएकोमा स्थानीय पूर्वाधार विभागबाट उपलब्ध गराइएको २ करोड १८ लाख ७४ हजार २ सय १ रुपैयाँ बराबरको लठ्ठा तथा बुल्डग ग्रिप्स बाहेक निर्माण कार्यको लागि निर्माण व्यवसायीसँको सम्झौता रकम भ्याट सहित ८ करोड २७ लाख ६ हजार ३ सय ८१ रुपैयाँ रहेको थापाले जानकारी दिए । पुल निर्माणका क्रममा करिब ३ हजार ५ सय जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको थापाले जानकारी दिए ।

मध्यपहाडि राजमार्ग र कालीगण्डकी कोरीडोरको संगम बिन्दु मालढुंगा माथि उक्त दुवै राजमार्ग र कालीगण्डकी नदिमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पूल बाग्लुङ सदरमुकाम र पश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध धार्मिक क्षेत्र कालिका भगवती मन्दिर क्षेत्र नजिक रहेकाले उक्त क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रमा थप योगदान पुग्ने थापा बताउँछन् ।

झोलुङ्गे पूलको निर्माणसँगै सो क्षेत्रको जनताको शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा, बजारसम्मको पहुँच सुविधामा समेत सुधार भएको छ । यस झोलुङ्गे पूलको निर्माण पश्चात् पाङतर्फ आर्थिक विकासका गतिविधि अगाडि बढ्ने समेत देखिन्छ । झोलुङ्गे पूलकोे निर्माणसँगै घण्टौं लामो यात्रा गरी पाङबाट नजिकको बजार क्षेत्रमा आउने स्थानीय जनताको अबको यात्रा समय १५ मिनेटमा झरेको छ ।

You might also like

Comments are closed.