महासंघको कोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा भक्त हमाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभाबाट अञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेतृत्वले पूर्णता पाउने क्रम जारी छ । नयाँ कार्यसमिति चयन भइसके पनि महासंघको विधान अनुसार महत्वपूर्ण मानिने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन हुन बाँकी छ । यी दुई पदका लागि आकांक्षीहरूले कार्यसमिति सदस्यहरू माझ आफ्नो पक्षमा लबिङ तीव्र पारेका छन् ।

यसैक्रममा, महासंघका स्थापित एवं अनुभवी केन्द्रीय सदस्य भक्त हमालले कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघमा यसअघि लगातार दुई कार्यकाल कार्यकारणी सदस्य भएर जिम्मेवारी निभाइसकेका हमाल हालै सम्पन्न साधारणसभाबाट तेस्रो कार्यकालका लागि कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।

को हुन् भक्त हमाल ?

कोषाध्यक्ष पदका बलिया दाबेदार मानिएका हमाल स्वास्थ्य उपकरण, मेडिकल आपूर्ति र सामाजिक सेवाको क्षेत्रमा स्थापित नाम हो । हमाल स्वास्थ्य उपकरण तथा सामग्रीको क्षेत्रमा विगत ३१ वर्षदेखि निरन्तर सक्रिय छन् । यसका साथै अस्पताल, नर्सिङ कलेज, रिसोर्ट तथा होटल व्यवसायमा समेत उनको लगानी र व्यावसायिक संलग्नता छ ।

उनी रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का निबर्तमान अध्यक्ष हुन् । महासंघमा उनले स्वास्थ्य तथा विपद व्यवस्थापन समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । यसबाहेक नेपाल–जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको कार्यकारिणी सदस्य तथा सार्क च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको साधारण सदस्य समेत हुन् ।

वि.सं. २०७२ को महाभूकम्प, नाकाबन्दी, र कोभिड–१९ महामारी जस्ता राष्ट्रिय संकटका समयमा उनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्यक्ष रूपमा उद्धार र राहत कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरी विपद् प्रतिकार्यमा खटिएका हमालले टर्कीको भूकम्प र नेपालका विभिन्न बाढीपहिरो पीडितहरूलाई महासंघको तर्फबाट सहयोग पु¥याएका थिए । हालै जाजरकोट भूकम्पका बेला प्रभावित नागरिकहरूलाई तत्काल औषधि, टेन्ट लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन उनी आफैं अग्रसर भएका थिए ।

महासंघभित्र हमाललाई एक परिपक्व, मिलनसार र संकटको समयमा ठोस निर्णय लिन सक्ने व्यावसायिक नेताका रूपमा हेरिन्छ । विगत लामो समयदेखि वस्तुगत तर्फबाट निजी क्षेत्रको एजेण्डा उठाउँदै आएकाले र महासंघको आन्तरिक आर्थिक एवं प्रशासनिक संरचनालाई नजिकबाट बुझेकाले यसपटक कोषाध्यक्ष पदमा उनको दाबेदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि महासंघभित्र आन्तरिक समीकरण र संवादका प्रयासहरू भइरहेका छन् । हमालको उम्मेदवारी घोषणाको तयारीसँगै कोषाध्यक्ष पदको चुनावी दौड थप रोचक बन्ने देखिएको छ ।

You might also like

Comments are closed.