‘हामी साना उद्यमीका सारथी बनेर झन्झटरहित सेवामा पहिचान बनाएका छौं’

आलोक मिश्र, चिफ बिजनेस अफिसर (सिबिओ), रिलायन्स फाइनान्स लिमिटेड

नेपालको वित्तीय क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेका ‘आलोक मिश्र’ हाल रिलायन्स फाइनान्स लिमिटेडमा ‘चिफ बिजनेस अफिसर’ (सिबिओ) को नेतृत्वदायी भूमिकामा छन् । बैंकिङ करिअरको सुरुआतदेखि नै विभिन्न दुर्गम तथा सुगम क्षेत्रका शाखाहरूको व्यवस्थापन र प्रादेशिक प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका मिश्रसँग ठूला वाणिज्य बैंकहरूको कार्यशैली र बजार व्यवस्थापनको गहिरो दख्खल पनि छ ।
पछिल्लो समय नेपालको अर्थतन्त्र र वित्तीय बजारमा देखिएका उतारचढावका बीच रिलायन्स फाइनान्सले कसरी आफ्नो व्यावसायिक यात्रालाई अगाडि बढाइरहेको छ ? ‘ग’ वर्गको वित्तीय संस्था भएर पनि विकास बैंक र वाणिज्य बैंकहरूसँग कसरी प्रतिस्पर्धा गर्दैछ ? एउटा सफल बैंकरको नजरमा वर्तमान बजारको चुनौती र अवसरहरू के-के हुन् ? यीनै विषयमा केन्द्रित रहेर उनको व्यावसायिक यात्रा र संस्थागत योजनाका बारेमा गरिएको कुराकानी :

तपाईंको बैंकिङ क्षेत्रको यात्रा कसरी सुरु भयो ? अहिलेसम्मको अनुभव कस्तो छ ?

मेरो बैंकिङ यात्रा सुरु भएको १९ वर्ष भयो । दिल्लीबाट एमबीए सकेपछि मैले नेपालको एउटा निजी कम्पनिमा बिदेशि एअरलाइन्सको ‘जीएसए’को लाईसेन्सको लागि करिब ५ महिना काम गरेँ, तर मेरो रुचि र करिअरको मुख्य जग बैंकिङ नै बन्यो । मैले साविकको नेपाल इन्भेष्टमेन्ट बैंकबाट आफ्नो यात्रा सुरु गरेँ । मैले ‘ग्रासरुट’ बाटै काम सिक्ने अवसर पाएँ । भैरहवाको लोन शाखाबाट सुरु भएको मेरो यात्रा वीरगन्ज, दरबारमार्ग हेडअफिस, ठमेल शाखा हुँदै बुटवलमा ब्रान्च म्यानेजरको जिम्मेवारीसम्म पुग्यो । त्यसपछि मैले सुदूरपश्चिम र गण्डकी प्रदेशको ‘प्रोभिन्स हेड’ भएर काम गर्ने अवसर पाएँ । मेगा बैंकसँगको मर्जरपछि काठमाडौँ फर्किएर हेडअफिसको रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टामा क्रेडिट युनिट हेड भएर काम गरे, संगै पुल्चोक जस्ता मुख्य शाखाको नेतृत्व सम्हालेँ । अहिले विगत ५ महिनादेखि म रिलायन्स फाइनान्समा चिफ बिजनेस अफिसर भएर काम गरिरहेको छु । यो १९ वर्षको अवधिमा मैले नेपालका विभिन्न भूगोल र व्यावसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने मौका पाएको छु ।

रिलायन्स फाइनान्सले अहिले कुन क्षेत्रलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ ?

हामीले अहिले विशेषगरी साना तथा मझौला कर्जा (एसएमई लोन) मा जोड दिएका छौं । घरेलु उद्योग र साना व्यवसायमार्फत उद्यमी बन्न चाहनेहरू हाम्रो प्राथमिकतामा छन् । यसबाहेक गाडी कर्जा, घर कर्जा र जग्गा कर्जामा पनि हाम्रो लगानी भइरहेको छ । बजारको अवस्था अहिले केही कमजोर देखिए पनि हामीले कर्जा प्रवाहलाई रोकेका छैनौं, बरु वास्तविक व्यवसायीलाई छनोट गरेर लगानी गरिरहेका छौं ।

बजारमा धेरै वित्तीय संस्थाहरू छन्, ग्राहकले रिलायन्स फाइनान्स नै किन रोज्ने ?

हाम्रा केही विशिष्ट पाटाहरू छन् जसले हामीलाई अरूभन्दा फरक बनाउँछ । हामीकहाँ आउने ग्राहकले संस्थागत भन्दा पनि एउटा पारिवारिक वातावरणमा सेवा पाउनुहुन्छ । हाम्रो ‘टर्न अराउन्ड टाइम’ एकदमै छोटो छ । फाइल प्रक्रियामा आएको ३ दिनभित्रै हामी लोन स्वीकृत गर्ने प्रयास गर्छौं । अनावश्यक झन्झट वा मानसिक दबाब (ह्यारेसमेन्ट) दिने हाम्रो नीति छैन । हामी नेपालकै बढी चुक्ता पुँजी भएको राष्ट्यिस्तरको फाइनान्स कम्पनीभित्र पर्छौं । यो क्षमताले हामीलाई विकास बैंक वा वाणिज्य बैंकहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्ने बनाएको छ ।

हाल संस्थाको वित्तीय अवस्था र पहुँच कस्तो छ ?

आजको दिनमा हामीसँग करिब १०.५० अर्ब रुपैयाँ निक्षेप छ भने ८.५० अर्ब रुपैयाँ बराबरको कर्जा लगानी छ । देशभर हाम्रो मुख्य कार्यालयसहित २१ वटा शाखा सञ्जाल छ र छिट्टै सुर्खेतमा नयाँ शाखा विस्तार गर्दैछौँ । बजारमा कर्जाको माग केही सुस्त देखिए पनि हाम्रा पुराना ग्राहकहरू हामीसँग सन्तुष्ट हुनुहुन्छ । एउटा ग्राहकले अर्को ग्राहकलाई रिफर गर्नु नै हाम्रो सेवाको सफलताको प्रमाण हो ।

रिलायन्स फाइनान्सको मुख्य उद्देश्य र भिजन के हो ?

हाम्रो मुख्य मन्त्र नै ‘वितीय सेवाको अर्को परिभाषा’ हो । हामी नेपालको वित्तीय क्षेत्रमा पहिलो रोजाइको फाइनान्स कम्पनी बन्न चाहन्छौं । हामी केवल नाफा कमाउन मात्र होइन, प्रविधिमैत्री सेवा प्रदान गर्दै समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने ‘गुड सोसल सिटिजन’ का रूपमा चिनिन चाहन्छौं । यही उद्देश्य र मिसनमा हाम्रो यात्रा अगाडि बढिरहेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

रिलायन्स फाइनान्ससँग जोडिनु भएका सम्पूर्ण सेवाग्राहीप्रति हामी आभारी छौं । आगामी दिनमा हामी आफूलाई अझै परिस्कृत र परिमार्जित गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । देशभर रहेका हाम्रा शाखाहरुमा खाता खोलेर कारोबार गर्न र हामीसँग जोडिन म सबैमा आग्रह गर्दछु ।

You might also like

Comments are closed.