पोखरामा जग्गा भाडामा दिने सम्झौता खारेज

पोखरा । पोखरा उपत्यका नगरविकास समितिले पूर्व मेयर एवं उपत्यका नगरविकास समतिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले गरेको जग्गा ठेक्कासम्बन्धी सम्झौता खारेज गरिदिएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको शुक्रबार बसेको १६९औं बैठकले पूर्व मेयर जिसीले गरेको ठेक्का सम्झौता गैह्रकानुनी रहेको निस्कर्ष निकाल्दै खारेज गरिदिएको हो ।

उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको जग्गा तथा संरचना भाडामा लगाउन गत ३ जेठमा विभिन्न कम्पनीसंग निवर्तमान मेयर जिसीले सम्झौता गरेका थिए ।

तर, उपत्यका नगर विकास समितिको यही असार २५ गते शनिबार बिहान बसेको बैठकले उक्त सम्झौता सम्बन्धी छनबिन गर्न मालपोत कार्यालय कास्कीका प्रमुख दीनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।समितिको सदस्यमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम रहेका थिए । उक्त समितिले आफ्नो प्रतिवेदन शक्रबार नै पेश गरेको हो ।

छानविन समितिले ठेक्का सम्झौता गैह्रकानुनी रहेको निस्कर्ष निकाल्दै त्यसलाई रद्ध गरी संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने राय पेश गरेको थियो ।

सोही राय बमोजिम उपत्यका नगरविकास समितिको बैठकले ठेक्का प्रक्रियामा संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय गरेको उपत्यका नगरविकास समितिका अध्यक्ष एवं पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

निवर्तमान मेयर जिसीले आफ्नो कार्यकाल सकिनु ४८ घण्टा अघि ३ जेठमा बन्द भइसकेको पोखराको एक पत्रिकामा सूचना निकालेर समितिका सदस्यहरू तथा कर्मचारीलाई समेत थाहा नदिई बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारलाई सस्तो मूल्यमा १० देखि २५ वर्षसम्मका लागि भाडामा सुम्पिएका थिए । तर, पूर्व मेयर जिसीले भने आफूमाथि लागेका आरोप अस्विकार गरेका छन् । उनले गत बुधबार एक विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप निराधार भएको बताएका थिए ।

lcci
You might also like

Comments are closed.