हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न त्रि-पक्षीय सम्झौता

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न त्रि–पक्षीय सम्झौता भएको छ ।

हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो ।

हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड अनुदान रकम उपलबध गराइएको अस्पतालका मेसु डा सापकोटाले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा सापकोटाले बताए । प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले बताए ।

You might also like

Comments are closed.