काठमाडौं । तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयले ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ जना स्वास्थ्य बीमाबाट लाभान्वित भएका भएको बताएको हो ।
जिल्लामा पहिलो वर्ष ८ हजार ७५१, दोस्रो वर्ष ९ हजार ४३, तेस्रो वर्ष १७ हजार ३८९, चौथो वर्ष ७ हजार ५७२ र चालु आर्थिक वर्षमा २ हजार २११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताइन् ।
सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ ।
आव २०७४÷०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सय बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप रु सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ ।
Comments are closed.