पोखरा चैत १४
पोखरा महानगरपालिका वडा नम्वर २३ को ठुलाखेतमा विहिबार ज्येष्ठ नागरिकको लागि निशुल्क स्वाथ्य शिविर गरिएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाको आयोजनामा संचालन गरिएको शिविरको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन् ।
कार्यक्रममा बोल्दै पोखरामा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्यमा महानगर गम्भिर रहेको बताउदै महानगरभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क घुम्ती शिविर सञ्चालन गरिएको बताइन् । उनले ज्येष्ठ नागरिकको स्वास्थ्यमा चाँसो राख्नुपर्ने बताउदै उनीहरुको हेरविचारमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको बताइन् ।
निर्वाचन भएर पदभार ग्रहण गरेको दिनमै महानगरका ज्येष्ठ नागरिकलाई दुई सय रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको बताउदै उनले भनिन्,–‘पोखरा महानगरका करिव १३ हजार ज्येष्ठ नागरिकले २२ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्, यो उहाँहरुप्रति गरेको सम्मान हो ।’ उनले नागरिकको स्वास्थ्यमा सरकार गम्भिर रहेका कारण आठ वटा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई महानगरको सिफारिसको आधारमा १ लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिइन् ।
क्यान्सर, मुुटु, हेडइन्जुरी, मृगौला लगायतका विरामीलाई १ लाख सम्मको निशुल्क उपचारको व्यवस्था रहेको बताउदै उनले भनिन,‘मृगौला फेर्नुपर्ने अवस्था विरामीलाई चार लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था छ ।’ ज्येष्ठ नागरिक बोझ नभएर घर र समाजका गहना भएको बताइन् । शिविर उद्घाटन कार्यक्रम वडा नम्वर २३ का कार्यबाहक वडाध्यक्ष भरतराज भण्डारीको अध्यक्षतामा भएको थियो ।
यसैवीच शिविरमा १८८ जना ज्येष्ठ नागरिकको आँखा, सुगर र जनल रोगहरुको जाँच गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।शिविरमा स्वास्थ्य परिक्षणपछि ज्येष्ठ नागरिकलाई औषधि निशुल्क उपलब्ध गराइएको थियो ।
Comments are closed.