काठमाडौं । महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्धारा बिहिवार जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा परेको छ ।
धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेकाले बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।
यस्तै नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको बैंकले जनाएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि निरन्तर रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
साथै पुस २८ गते भएको बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।






Comments are closed.