काठमाडौं । कामना सेवा विकास बैंकले ग्लोबल मनि सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाईजेशन अफ इकोनोमिक को–अपरेसन एण्ड डेप्लपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । सो सप्ताह सोमवारदेखी सुरुवात भएको हो ।
नेपाल राष्ट्र« बैंकद्धारा आयोजित ग्लोबल मनि सप्ताह २०२४ अन्तर्गत यस बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख मोहनदत्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन सहित गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षको सहभागी थिए ।
गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकले वचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकिने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण बैंकका बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले गरेका हुन् । कार्यक्रममा सहभागीलाई स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गर्दै पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु र यसका अवसर, चुनौतीका विषयमा जानकारी दिइएको छ ।
कार्यक्रममा झापा जिल्लामा विभिन्न नगदेवाली उत्पादनसँग सम्वन्धीत एक सय भन्दा बढीको सहभागीता रहेको थियो । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।






Comments are closed.