रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिका ३ स्थित गण्डकीढिक बोटेगाउँ बस्ने अर्जुन बोटेको उपचारमा आर्थिक रकम सहयोग जुटेको छ ।
जनज्योति युवाक्लव बोटेगाउँले सामाजिक सञ्जालमार्फत ‘अर्जुन बोटे बचाउ’ अभियान सञ्चालन गरी सङ्कलित नगद दुई लाख ८७ हजार तीन सय एक रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको छ ।
सो रकम स्वदेश तथा प्रवासमा बसोबास गर्ने नेपालीमार्फत सङ्कलन गरिएको हो । ३३ वर्षिय बोटेको उपचारको लागि आर्थिक अभाव भएपछि युवाले सामाजिक सञ्जालको प्रयोग गरी सहयोग अभियान सञ्चालन गरेका हुन् ।
ज्याला मजदुरीको क्रममा गत चैत १६ गते आफ्नै आफन्तको घर पलाष्टारको काम गर्दै गर्दा एक्कासी उच्च रक्तचापका कारण शरीरको आधा भागले काम गर्न छाडेको थियो । टाउकोमा रगत जमेकाले शल्यक्रिया गरेका बोटेलाई उपचारमा रकम अभाव भएपछि युवाले सहयोग रकम जुटाउन थालेका हुन् ।
समाजसेवी खगेश्वर बोटे (पाल्पाली कान्छा) को नेतृत्वमा सामाजिक सञ्जालमार्फत ‘अर्जुन बोटे बचाउ’ अभियान सञ्चालन गरेर उठेको रकम परिवारले ग्रहण गरेका छन् ।
दिनभर मजदुरी गरेर जीवन निर्वाह गर्ने, परिवारको जोहो गर्ने व्यक्ति आफै बिरामी परेर अस्पतालमा उपचाररत रहदा परिवार नै बिचल्लीमा परेपछि थोरै भएपनि सबै मिलेर सकेको सहयोग गरौँ भन्ने मनसायले अभियान सञ्चालन गरेको जनज्योति युवाक्लवका अध्यक्ष एवं अभियानका सह–संयोजक ऋतुदास अर्यालले बताए ।
अभियान सञ्चालनको २७ दिनमै दुई लाख ८७ हजार तीन सय एक रुपैयाँ सङ्कलन भएको अर्यालको भनाई छ । परिवारको अवस्था नाजुक हुदा उपचारमा परेको समस्यालाई युवाले बुुझेर गरेको यस सहयोगले ठूलो राहत मिल्ने पिडित बोटे बताउँछन् ।
Comments are closed.