रामपुरका आगलागी पिडितलाई राहत रकम सहयोग

रामपुर (पाल्पा) । रामपुरका आगलागी पिडित परिवारलाई राहतस्वरुप आर्थिक रकम सहयोग हस्तान्तरण गरिएको छ । रामपुर नगर कार्यसमितिसहित विभिन्न संस्था तथा समुहले रामपुर नगरपालिका वडा नं. ४ र ५ का ९ घर परिवारलाई ४ लाख ७६ हजार ४ सय रुपैयाँ रकम सहयोग गरेको हो ।

कार्यक्रममा नेवाः देय दबू रामपुर नगर समिति मार्फत ३ लाख ६५ हजार ४ सय, रामपुर नेवाः समाजले ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षयकोषमार्फत २५ हजार र रामपुर अक्षयकोषबाट ५६ हजार रकम सहयोग गरिएको छ ।

रामपुर नेवाः समाजको कार्यालयमा कार्यक्रम गरी पीडित परिवारलाई क्षतिको आधारमा रकम सहयोग गरेको हो । शुक्रबार रामपुर नेवाः समाजको कार्यालयमा भएको राहत रकम वितरण कार्यक्रम नेवाः देय दबू रामपुर नगर कार्यसमितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले विपद्मा परेका परिवारको पीडामा मलम लगाउन संघ संस्था तथा समुहले देखाएको अग्रसरता प्रति आभार व्यक्त गरे । उनले अग्नीपीडित परिवारको लागि प्रदेश सरकारमार्फत प्राप्त हुने राहतको पहल भइरहेको जानकारी दिए । नेवाः देय दबू रामपुर नगर समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठले आगलागीबाट क्षति भएलगतै नगरका १० वटै वडा समितिलाई परिचालन गरी सहयोग जुटाएर राहत प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा नेवाः देय दबू रामपुर नगर समितिको तर्फबाट प्रमुख अतिथी श्रेष्ठसंगै अध्यक्ष रुद्रनारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठ, सचिव लेखप्रसाद श्रेष्ठ सहितका पदाधिकारीले रकम हस्तान्तरण गरेका हुन् । रामपुर नेवा समाज रामपुरको तर्फबाट अध्यक्ष बाबुराम श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव विमल श्रेष्ठ, लोकप्रसाद शेषकुमारी अक्षयकोषबाट प्रधान संरक्षक एवं प्रमुख अतिथी श्रेष्ठ र रामपुर अक्षयकोषबाट अध्यक्ष राजुप्रसाद श्रेष्ठ, सचिव तुलबहादुर थापा, कोषाध्यक्ष विनोदकुमार श्रेष्ठले रकम पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।

आगलागीले रामपुर नगरपालिका ४ को समाङसिङमा ३, तल्लो गिजिनडाँडामा १ र रामपुर ५ गैराको ५ घरको घर तथा गोठमा क्षति भएको छ । अग्नीपीडित परिवारलाई क्षतिको आधारमा राहत रकम प्रदान गरिएको हो । रामपुर अक्षकोषका सचिव तुलबहादुर थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई नेवाः देय दबू रामपुरका वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठले धन्यवाद दिए । कार्यक्रमको सञ्चालन नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठले गरेका हुन् ।

You might also like

Comments are closed.