काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस यूनिभर्स नेपाल”को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस यूनिभर्स नेपाल २०२४” को लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट रहेको बताइन् । उनले यस वर्ष हामी सबै क्षेत्रका महिलालाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध रहेको जानकारी दिइन् ।
प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ । इच्छुक महिलाले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधिभर ७ प्रदेशमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपाली साथै गैर आवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउनेछन् । सहभागीले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्नेछन् ।
असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरु छानिनेछ । असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धी, साउन १६ गते शीर्ष २२ छानिने बताइएको छ । उनीहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिती रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट ६० सहभागीले २ दिने प्रशिक्षण प्राप्त गर्नेछन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस यूनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक रेजिस्ट्रेसन पार्ट्नरको रुपमा खल्ती रहेको छ भने स्किन केयर पार्ट्नरको रुपमा मिस युनिभर्स स्किन केयर रहेको छ । त्यसैगरी नेपाल पर्यटन बोर्ड आधिकारिक टुरिज्म पार्ट्नर रहेको छ ।
Comments are closed.