तनहुँमा धान उत्पादन वृद्धि

दमौली (तनहुँ) । तनहुँमा धान उत्पादन बढेको छ । गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार २९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ । चालु आर्थिक वर्षमा ८ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ६६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार २३७ मेट्रिक टन धान उत्पादन भएको थियो । परियारले भने, “गत कात्तिकमा वर्षाका कारण तनहुँका ९ वटा पालिकाका ४४ दशमलब ६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो । तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ ।”

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार ५५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने ७ हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।

lcci
You might also like

Comments are closed.