महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर । महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार १ सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

यस वर्ष कुल ४२ हजार ५ सय हेक्टरमा गरिएको धानखेतीमा १ लाख ५९ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो । जुन गतवर्षको तुलनामा ३० दशमलव २ प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार ८७० हेक्टरमा धानखेती गरिँदा १ लाख २२ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिऊ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए । उनले मसिनो र सुगन्धित धान (बासमति, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताएका छन् ।

उनका अनुसार यसवर्ष जिल्लामा केवल ३ हजार २५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको हो । केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र २ दशमल ५ मेट्रिक टन छ ।

lcci
You might also like

Comments are closed.