अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङ । यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि २४ सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु १२ सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा ३८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु ५५० देखि सात सयसम्म बिक्री भएको थियो । आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो । आव २०७७/७८ मा ३५ सय क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख आम्दानी भएको थियो ।

आव २०७६/७७ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५/७६ मा ७५० क्विन्टल अलैँची बिक्री गरी किसानले ५ करोड २५ लाख आम्दानी गरेका थिए । जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार ७ सय केजी अलैँची बिक्री गरी रु १ करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो ।

भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा ७ सय मिटरदेखि १२ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, १२ सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र १६ सयदेखि २२ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो ।

lcci
You might also like

Comments are closed.