कर्मचारीलाई सेवा अनुसारको मेवा दिने मुख्यमन्त्रीको आश्वासन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कर्मचारीहरुलाई सेवा अनुसारको मेवा दिने आश्वासन दिएका छन् । गण्डकी प्रदेश भित्र रहेका कार्यालय प्रमुखहरुलाई बुधबार पोखरामा निर्देशन दिदै उनले दुःख गरे अनुसारको सेवा सुविधा दिने आश्वासन दिएका हुन् । हामी अन्य प्रदेशको तुलनामा नम्बर वान हुनुपर्छ, ‘उनले भने, ‘तपाईंहरु हलीले जसरी काम गर्नुस्, अनि हाकिमले जति तलब लानुस् ।’ उनले थपे,‘हामी सबै कुरामा एक नम्बर हुनुपर्छ, सेवा, सुविधा पनि एक नम्बर नै हुन्छ ।’

तर पुरानै कार्यशैली र ढिलासुस्ती कायम रहेमा भने प्रदेश सरकारलाई सह्य नहुने मुख्यमन्त्रीले चेतावनी दिए । हाम्रो काम गर्ने तौर तरिका पुरानै छ,‘उनले भने,‘हिजोजस्तै ढिलासुस्ती, प्रक्रियाका नाममा जनतालाई दुःख दिने, घुस खाने, भ्रष्टाचार गर्ने हो भने त्यो सरकारलाई सह्य हुँदैन ।’ ऋणको भारी बोकेर जनताले मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई तलब, भत्ता दिइरहेको भन्दै उनले भने,‘यति गर्दापनि राम्रो काम गरेन भने के हुन्छ ? त्यो सह्य हुँदैन ।’ उनले जनतालाई भगवान भन्दै उनीहरुलाई सुख, सुविधा दिनका लागि रात दिन खट्न कर्मचारीलाई निर्देशन दिए । आर्थिक समृद्धी त्यत्तिकै आउँदैन,‘उनले भने,‘आर्थिक समृद्धिको मूल खम्बा कर्मचारी नै हो, त्यसैले तपाईंहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन लाग्नुस् ।’

मुख्यमन्त्री गुरुङले यस वर्ष प्रदेश सरकारको लक्ष्य शत प्रतिशत बजेट खर्च गर्ने रहेको बताए । अघिल्लो वर्ष सरकारको ढिलासुस्तीले ६६.७ प्रतिशतमात्र बजेट खर्च भएको भन्दै उनले यस आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा माथि खर्च गर्ने लक्ष्य रहेकाले सो अनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे । अहिलेपनि सबै कार्यालयहरु प्रदेश मातहत नआइसकेको र कर्मचारीपनि समायोजन नभइसकेको भन्दै यसको दोष संघ सरकारले लिनुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानिय सरकार तीन तिर फर्किदा लक्ष्य नभेटिने भएकाले तीन वटै सरकार एकैतिर फर्किनुपर्ने र लक्ष्यपनि एउटै बनाउनुपर्ने बताए ।

You might also like

Comments are closed.