काठामाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँ केन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।
महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिटान्सबाट भित्रिएको रकमले वस्तु तथा सेवा खरिद गरी चलिरहेको भन्दै अबका यस्तो अर्थतन्त्र दिगो नहुने उनको भनाइ छ । अहिले भन्सारमा आधारित कर राजस्वले अर्थतन्त्र चलिरहेको भन्दै अबका दिनमा त्यसबाट बाहिर निस्कदै स्वदेशी वस्तु तथा सेवा उत्पादनमा लाग्नुपर्ने उनले जनाए ।
यसैगरी अबका दिनमा सरकार वा पार्टीले कस्तो खालको व्यवसायीक नीति लिने भन्ने विषयमा महासंघले पार्टीलाई सुझाव दिनुपर्ने नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनवर्गीय संगठनमा इन्चार्ज भानुभक्त ढकालले बताए । ‘उद्योग व्यवसायको क्षेत्रमा एमालेले कस्तो नीति लिनुपर्छ यस विषयमा महासंघले आफ्नो स्पष्ट धारणा दिनुपर्छ,’ उनले भने, ‘पार्टीले अब विधान अधिवेशन गर्दैछ, उद्योगी व्यवसायी र उद्योग व्यवसाय प्रति कस्तो नीति लिनुपर्छ त्यसमा महासंघले स्पष्ट रुपमा राख्नुपर्छ र त्यसलाई पार्टीले सम्बोधन गर्नेछ ।’
साथै महासंघ नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संस्था भएकाले उद्योगी व्यवसायीको क्षेत्रमा महासंघले अघि सारेको धारणालाई अंगिकार गर्दै कार्यान्वयनमा लैजाने समेत उनी बताउँछन् । महासंघले यसअघि रामशाह पथस्थित नेशनल ट्रोडिङको भवनमा रहेको आफ्नो केन्द्रीय कार्यालयलाई महासंघले सुन्धरास्थित सीटीसी मलमा सारेको हो ।
महासंघले अत्याधुनिक अफिस निर्माण गरी सुन्धरास्थित सीटीसी मलको दोस्रो तलामा सरेको हो । आइतबार महासंघका अध्यक्ष भागिरथ सापकोटाको अध्यक्षतामा आयोजित सो समारोमा भानुभक्त ढकालका साथै महासंघका इन्चार्ज रचना खड्का, महासंघका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्यहरु तथा अन्य उद्योगी व्यवसायी सहभागी थिए ।
Comments are closed.