काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाले आ.व. २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी रु. १४ अर्व ७६ करोड ९ लाख १२ हजार ९ सय ६६ को ५ प्रतिशतले हुने ७ करोड ३८ लाख ४५ हजार ६ सय ४८ रुपैयाँ ३० पैसा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८ सय २३ रुपैयाँ ५९ पैसा सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४ सय ७१ रुपैयाँ ८९ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको प्रवक्ता तथा सुचना अधिकारी नारायण राज अधिकारीले जानकारी दिए । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको जानकारी गराए । यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।




Comments are closed.