काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आज फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो शेयरका लागिभोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। साथै १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म रहने जनाइएको छ।
आईपीओका लागि गरिएको रेटिङअनुसार CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP BB+ (डबल बी प्लस) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ।
आईपीओ निष्कासनको बिक्री प्रबन्धक Prabhu Capital Limited रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, Prabhu Bank का भोजपुर, प्याउली र हटुवागढी शाखा तथा Citizens Bank International को भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने Securities Board of Nepal बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।






Comments are closed.