काठमाडौं । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गरेकि छिन् ।
तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक लिसा शाननले महिलालाई नेपाल र नेपालीले दिएको उच्च सम्मान र उनीहरूको सुरक्षाका निम्ति दर्र्शाएको सद्भाव र प्रतिबद्धता विश्वमै अनुकरणीय भएको बताएकि हुन् ।
महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धिको लागि विश्वव्यापी अभियानमा लागेकि लिजाले ‘विश्वमा दक्षिण एसियाको प्रतिध्वनिः महिला र बालिकाविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मान्यता’ विषयको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको लागि काठमाडौं आएका बेला रासससँगको कुराकानीमा दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालमा महिला अधिकार रक्षाका निम्ति भएका प्रयास सराहनीय रहेको बताइन् । यद्यपि उनले सन्तुष्ट भएर बस्ने अवस्था भने नरहेको बताइन् ।
महिला हिंसा घटाउन भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले हिंसा सम्बोधन गर्न कानुनीरूपमा नै बाध्यकारी प्रावधान हुनुपर्छ भनिन् । एभ्रि वुमन ट्रिटीमा मानवअधिकार, महिला र किशोरविरुद्ध हुने हिंसाका विरूद्ध स्पट र कडा नीति तथा तिनको इमान्दारीपूर्वक कार्यान्वयन अपरिहार्य भएको अभिमत उनले व्यक्त गरिन् ।
आर्थिकरूपमा महिलालाई आत्मनिर्भर बनाउने तथा स्वास्थ्य, सुरक्षा, न्यायलगायत सबै पेसा व्यवसायलाई जिम्मेवार बनाउनुपर्ने, हिंसा हुन नदिने शिक्षाको विकास गर्नुपर्ने, नियमन निकायलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् । “विद्यालयस्तरदेखि नै हिंसाविरूद्धको शिक्षा लागू गर्नुपर्छ, महिलाहरूको सशक्तीकरणका लागि पर्याप्त स्रोत र साधनको व्यवस्था गर्न सरकारहरूले कञ्जुस्याईँ गर्नुहुँदैन”, विश्वका विभिन्न देशले प्रतिरक्षाका लागि छुट्याएको एक प्रतिशत रकमले पनि महिलाका लागि धेरै काम गर्न सकिने तर्क गर्दै उनले भनिन् ।
महिलामाथि हुने विभेदलाई निमिट्यान्न पार्न विश्वका हरेक पुरुषले आवाज उठाउनुपर्ने बताउँदै उनले तेस्रोलिङ्गीलगायत सीमान्तकृत वर्गका समस्यालाई पनि बेवास्ता गर्न नहुने उल्लेख गरिन् । नेपालका नीति निर्माता, कानुन कार्यान्वयन गर्ने निकाय, न्यायालयलगायत राज्यका हरेक तहका व्यक्ति महिला हिंसा रोक्न संवेदनशील रहेकामा आफूलाई खुसी लागेको उनले बताइन् ।
भारत, रूस, सोमालिया, इराक, ग्वाटेमाला, केन्या र कङ्गोमा लैङ्गिक विभेदविरुद्ध अनुसन्धान गरेकि उनले कङ्गोली र सोमालियाका महिलाका लागि पहिलो यौन हिंसा सङ्कट केन्द्रको सहसंस्थापकका रूपमा काम गर्नाका साथै महिला आन्दोलन र उनीहरुको हकहितका लागि अन्तर्राष्ट्रिय रुपमा अभियान सञ्चालन गर्दै आएको छिन् । लिसा हार्वर्ड केनेडी स्कुलमा सेन्टर फर पब्लिक लिडरसिप (२०१२–१३) र मानव अधिकारका लागि कार सेन्टरको (२०१३–१४) ग्लेटिट्सम्यान फेलो थिइन् ।
Comments are closed.