‘सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप पूर्णरुपमा सुरक्षित’

काठमाडौं । सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छाता संस्थाहरुले जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरी अनावश्यक हल्लाको पछि नलाग्न सम्पूर्णलाई आग्रह गरेको छ ।

‘यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणिहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको सर्वविदित नै छ । यी सबै संस्थाहरुले ८२,००० भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आ.व २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई रु ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठः

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ क्षेत्रलाई दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रको रुपमा स्थापित गर्न सहयोग गर्नुहुने समस्त सरोकारवालाहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणिहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको सर्वविदित नै छ । यी सबै संस्थाहरुले ८२,००० भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आ.व २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई रु ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।

पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (द्यबकभ िलगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति÷नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।

यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।

बेला-बखतमा सामाजिक संजालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं । साथै, आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।

बैंकिङ क्षेत्रप्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्गहरु तथा आम जनमानसमा सही सूचना÷तथ्य पुर्याउन सहयोग गर्नुहुने संचार माध्यमहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा–सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा यहाँहरु समक्ष अनुरोध गर्दछौं ।

नेपाल बैंकर्स संघ
डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल
नेपाल वित्तीय संस्था संघ
नेपाल लघुवित्त बैंकर्स संघ

You might also like

Comments are closed.