बेगनास युवा क्लबको ४२ औं सरसफाइ अभियान

लेखनाथ, २२ पुस

व्युटीफुल बेगनासको परिकल्पनामा बेगनास युवा क्लवले पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा ४२ औं साताको सरसफाइ अभियान शनिबार सम्पन्न गरेको छ ।

सफाइ अभियानमा बेगनास युवा क्लवका सदस्यहरु मात्रै होइनन् तालचोक बजार व्यवस्थापन समिति, लेकसिटी युवा क्लव, तालचोक टोल विकास संस्था, नौविसे टोल विकास संस्था, तालचोक नवज्योति नौविसे आमा समूह, बेगनास महिला समूह, मिलनसार तमु समाज, होटल एशोसिएसन लेखनाथ, आदर्श युवा क्लव, नेपाल प्रहरी लगायत दर्जन बढी संघसंस्थाले हातेमालो गरेका थिए ।

jutta mela

क्लवका अध्यक्ष राम रानाभाटले भने ‘हामी सरसफाइ अभियानमा जुटिरहँदा फोहर सङ्कलन गर्नुका अतिरिक्त स्थानीय नागरिकलाई पर्यटकीय आँगन सफा राखे पर्यटक आउँछन् र खुशी हुन्छन् भन्ने सन्देश पनि दिन्छौं ।’ उनले थपे, बेगनास युवा क्लवको सान भनेकै थकाइ नलाग्ने सफाइ अभियान हो, बेगनासको वातावरण र जैविक विविधा जोगाउन पनि यसले सहयोग पु¥याउने छ । यसमा हामीले कसैको आर्थिक सहयोग लिएका छैनौं । आफ्नै गोजीको पैसाले चियाखाजा खाएर सफाइमा जुट्छौं ।


बेगनासतालमा जलकुम्भी देखिन थाल्यो, बाँधमा प्लाष्टिक र बोतल थुप्रिन थालेपछि २०४७ सालमा स्थापना भएको बेगनास युवा क्लवले २०७४ माघ २० गतेबाट बृहत् बेगनासताल सरसफाइ अभियान सुरु गरेको जानकारी क्लवका सचिव रोशन खनालले दिए । क्वलले ताल क्षेत्रमा मात्रै सीमित नरही स्थानीय वासिन्दाको अनुरोधमा अन्य वडामा पनि यो अभियान जारी राखेको छ ।

पर्यटन व्यवसायी एवम् क्लवका सल्लाहकार दुर्गाप्रसाद अधिकारीले भने, ‘यो सफाइ अभियानले तालको संरक्षण र विकासका अतिरिक्त वाह्य तथा आन्तरिक पर्यटकहरू पनि वृद्धि हुनेछ । शैक्षिक भ्रमणमा पोखरा बेगनास आउने विद्यार्थीका लागि यो अभियान नमुना र उदाहरणी हुनेछ ।’

जाडो होस् वा गर्मी क्लवले जारी गरेको सूचनालाई आधार मानेर सबै सदस्यहरू बिहानै ७ः३० बजे एकै ठाउँमा भेला हुन्छन् । व्युटीफूल बेगनासको सपनालाई साकार पार्न हातमा सेता पञ्जा लाएर, डोका र बोरा बोकेर युवा युवती दिल खोलेर सफाइ अभियानमा जुटछन् । सफाइसँगै स्थानीय नागरिकलाई जथाभावी फोहर नफाल्न अनुरोध पनि गर्छन् ।

You might also like

Comments are closed.