‘बजारको माग अनुसार दैनिक ५० हजार लिटर दूधको कमी छ’

संजीव झा, महानिर्देशक, दुग्ध विकास संस्थान (डिडिसी)

दुग्ध विकास संस्थान (डिडिसी)ले देशभर ४४ जिल्लामा आफ्नो सञ्जालसहित सेवा प्रदान गर्दै आइरहेको छ । डिडिसीले दूध र दुग्धजन्य पदार्थको प्रशोधन, उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ । यसैक्रममा डिडिसीको सेवा, पछिल्लो अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर महाप्रवन्धक संजीव झासँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

पछिल्लो समय डिडिसीले कसरी काम गरिरहेको छ र अहिलेको अवस्था कस्तो छ ?
डिडिसीले दूधजन्य पदार्थलाई प्रशोधन गरि बजारीकरण गर्छ । डिडिसी अहिले जटिल अवस्थामा छ । कच्चा पदार्थको नियमित आपूर्ति सहज छैन । डेरी उद्योगको लागि यो सबैभन्दा ठुलो चुनौती हो । समय समयमा आउने विभिन्न असहज परिस्थितिका कारण पनि असहज अवस्था सृजना हुने गरेको छ । कोभिड महामारी पछि अहिलेको अवस्था केही सहज भने हुँदै गइरहेको छ ।

डिडिसी नेपाल सरकारको निकाय भएका कारण किसानबाट उत्पादित दूधको पनि उचित व्यवस्थापन गर्नुपर्ने, दूध फाल्ने अवस्था सृजना नहोस् र व्यवसायी तथा किसान पलायन नहुन् भन्ने कुरा ख्याल गरेर जिम्मेवारी वहन गर्दै आइरहेका छौं । कोभिडको समयमा बजारमा खपत थिएन ।

jutta mela

अत्याधिक दूध आउने कारणले १ खर्ब भन्दा माथिको सामान हामीले स्टोर गरेर राख्यौं । आफ्नो भण्डारण नभएर बाहिरको भण्डारण समेत प्रयोग गर्यौं । मख्खनलाई माइनस १८ डिग्रीको तापक्रम आवश्यक हुन्छ । हाम्रो आफ्नो क्षमता सीमित छ । सीमित क्षमताभन्दा माथि गएर बाहिर भाडा तिरेर व्यवस्थापन गर्यौं ।

पछिल्लो समय किसानलाई समयमा भुक्तानी दिन नसकेको अवस्था पनि रह्यो । दूध लिने कुरालाई केहि कटौती गर्नुपर्यो । क्यापिटल ब्लकको अवस्थामा रह्यो ।

अहिले दूध उत्पादनको अवस्था कस्तो छ ?

अहिले कोभिड समयको अवस्थाबाट बाहिर आयौं । अहिले कच्चा दूधको सर्टेजको अवस्था छ । हामीलाई आवश्यक पर्ने न्युनतम कच्चा पदार्थ पनि हामीले पाएका छैनौं । अहिले दैनिक रुपमा करिव ४० देखि ५० हजार लिटर दूधको कमी छ ।

डिडिसीमा आउने दूधको करिब ८५ प्रतिशत दूध ५ सय मिलिलिटरको प्याकेट बनाएर बजारीकरण गर्छौं । बाँकी अन्य दूध घ्यु, बटर लगायतका उत्पादनमा प्रयोग हुन्छ ।

हाम्रो व्यावसायिक कन्सन्ट्रेसन तरल दूधमा छ । अहिले धुलो दूध र मख्खन पनि हामीसँग छैन । त्यसकारण घ्यु र बटरको उत्पादन र बिक्री वितरण वैशाख १५ गतेबाट पूर्ण बन्द गरेका छौं । मासिक ५० हजार लिटर घ्युको कारोबार हुन्थ्यो । अहिले बजारमा दूधको चाँही कमी हुन दिएका छैनौं । बजारको माग अनुसार वितरण गरिरहेका छौं । सप्लाई चेनको इन एण्ड आउटको फ्लोको अवस्था हेर्दा दैनिक करिब ५५ देखि ६० हजार लिटर दूध दैनिक आइरहेको छ । सञ्चित कच्च पदार्थको समेत प्रयोग गरेर ९० देखि ९५ हजार लिटर बजारीकरण भइरहेको छ ।

दूध, दही, बटर पनिर लगायत जतिपनि प्रोडक्ट छन् ती मध्य दूध र दही मात्र नियमित छन् । दूध र दही मात्र करिब ९५ हजार लिटर बजारीकरण गरिरहेका छौं । दूध नै पुर्‍याउन सक्ने अवस्था नरहेकाले अन्य उत्पादन बन्द गरेका हौं ।

पनिर हामीसँग छ । पनिरको उत्पादनको नेटवर्क छुट्टै छ । त्यो पार्टलाई हामीले चलाएका छैनौं । यसमा पनि स्टक थप्न भने पाएका छैनौं । डेरी उद्योगलाई वैशाखदेखि भदौसम्म जुनसुकै वर्षपनि केही अप्ठ्यारो हुन्छ । यो वर्ष तुलनात्मक रुपमा धेरै नै अप्ठ्यारो छ ।

दूधलाई कसरी वर्गीकरण गरिन्छ ?

बजारमा ४ किसिमका दूध आउँछन् । एउटा ३ प्रतिशत फ्याटको जान्छ, अर्को ५ प्रतिशतको फ्याटको जान्छ, एउटा गाईको दूध हुन्छ जसमा ३.५ प्रतिशत फ्याट हुन्छ । अर्को लो फ्याट दूध हुन्छ जसमा १.५ प्रतिशत फ्याट हुन्छ । यसको कच्चा पदार्थ भनेको किसानबाट आउने दूध नै हो ।

दुग्ध क्षेत्रमा अहिले के–कस्ता समस्या छन् ?

कोभिडको समयमा कृषकको उत्पादन पनि नउठेको कारण पनि समस्या आएको हो । कति कृषक पलायन पनि भएको अवस्था छ । दूध बिक्री नहुँदा कतिपय कृषकले पशुलाई दाना खुवाउनुको सट्टा प्राकृतिक चरनमा छोडेको पनि पाइन्छ । हाम्रो स्टडी अनुसार हामीले यस्तो देखेका छौं । बिगतका वर्षमा यस्ता ग्यापलाई फुलफिल गर्न अन्तर्राष्ट्रिय बजारबाट आयात गरिन्थ्यो । अहिले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारबाट यस्ता कुरा ब्याण्ड गरिएको छ ।

मिल्क प्रोडक्सनलाई हेर्ने हो भने प्रायजसो असार महिनामा भैसी ब्याउँछन् । पानी पर्ने भएकाले हरियो घासपात पनि हुन्छ, दूध उत्पादन पनि बढ्छ । साउन र भदौमा चाडपर्वहरु पर्ने भएकाले स्थानीयस्तरमा नै दूध खपत हुन्छ । यसकारण सिस्टममा कम आउँछ । उत्पादित बस्तु बिक्री गर्ने एउटा बजार हो र कृषकबाट खरिद पनि एउटा बजार हो । डिडिसी लगायतका सबै संस्थाको ध्यान खरिद बजारमा हुन्छ । डिडिसीले आफ्नो तरिकाले काम गरिरहेको हुन्छ भने अन्य निजी क्षेत्रले पनि आफ्नै तरिकाले काम गरिरहेका हुन्छन् । खोसाखोसको अवस्था पनि सृजना हुन्छ । निजी डेरीको बिचमा पनि एक किसिमको प्रतिश्पर्धा नै छ । व्यवसाय संचालनका लागि सबैको आ–आफ्नै व्यवस्थापन हुन्छ ।

पछिल्लो विषम परिस्थितिमा डिडिसी कसरी चलिरहेको छ ?

डिडिसी सिस्टममा नै चल्दै आइरहेको छ । फिल्डको फिल्ड डिसिजन गर्न मिल्दैन । हामीकोमा दूधको फ्लोमा कमी हुन्छ । भदौपछि भने केही सहज हून्छ ।

डिडिसीको बजारीकरणको जिम्मेवारी र उत्तरदायित्वको हकमा प्रशोधित दूधलाई लिएर धेरै जिम्मेवारी हुन्छ । सबैखालका उपभोक्ताले धेरै प्रयोग गर्ने उत्पादन भनेको दूध नै हो ।

कोभिडले धेरै समस्याको सृजना गर्यो र धेरै कुरा सिकायो पनि । क्राइसिस म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा व्यवसायीलाई मात्र नभई किसानले पनि सिकेका छन् ।

संकलनको सिस्टमलाई नै डिडिसीको व्यावासायिक स्टक्चर अनुरुप ल्याउने भन्ने योजना हाम्रो छ । डिडिसी पनि व्यावसायिक निकाय भएको र नाफा गरेर आफै संचालन हुनुपर्छ । विभिन्न खर्च आन्तरिक व्यवस्थापनबाट नै चलाउनुपर्छ । हिजो डिडिसीको एकलौटी बजार थियो । सबै कुरालाई मोर्डनाइज गर्ने, उपभोक्तामुखी भएर उत्पादन विविधीकरण गर्ने योजना छ । प्रोडक्ट डाइभर्सिटीमा जाने छौं ।

कच्चा पदार्थ कसरी व्यवस्थापन गर्नुभएको छ ?

डिडिसी काठमाडौंमा मात्र करिब दैनिक ५ बोरा चिनी खपत हुन्छ । अहिले कच्चा पदार्थ धेरै नभएका कारण चिनीको प्रयोग पनि घटेको छ । २५ बोरा चिनी लिन जादा साल्ट ट्रेडिङबाट ५ बोरा चिनी पाइन्छ । सरकारी निकाय भएकाले अन्य स्थानबाट खरिद गर्न पनि अप्ठ्यारो छ । हामीलाई चाहिने अन्य कच्चा पदार्थ केमिकल, प्याकेजिङ मेटेरियल, महंगो पर्छ । सामान पनि पाइएको छैन ।

डिडिसीको संजाल कस्तो छ ?

४४ जिल्लामा हाम्रो अपरेसन छ । सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । काठमाडौं दुग्ध वितरण आयोजना बालाजुको अपरेसन सबैभन्दा ठुलो छ । सबैतिरबाट संकलित दूध र उत्पादनको अधिकांश प्रतिशत लिएर आउछौं । जस्तो कि धनगढीमा संकलित दूधको २० देखि २२ प्रतिशत मात्र त्यहाँ प्रयोग हुन्छ । बाँकी दुध ढुवानी गरेर काठमाडौं ल्याउछौं । यसरी ल्याउदा प्रतिलिटर १५ रुपैयाँसम्म अतिरिक्त शुल्क लाग्छ । ढुवानी खर्च पनि महंगो पर्न जान्छ । हरेक २/४ दिनमा बजारको मूल्य रिभाइज गर्न सकिदैंन । यस्ता कारणले पनि थप व्ययभार परेको छ । सामान खरिद गर्नका लागि बोलपत्र आह्वानका विभिन्न प्रक्रिया छन् । प्रक्रिया लामो भएका कारण पनि मूल्य बढेर आएको हुन्छ ।

दूध र दूधजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

दूध र दुग्धजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर बनाउने भन्ने सरकारको योजनालाई सहयोग गर्नेे अग्रस्थानमा डिडिसी नै आउँछ । नेपाल सरकारको नीतिलाई हुबहु अक्षरस पालना गर्नेदेखि हरेक कुरामा डिडिसी फ्रन्ट लाइनमा छ । बिगत २ वर्ष अगाडि नेपाल सरकारबाट धुलो दूधमा आत्मनिर्भर भएको घोषणा पनि गरिएको छ । डिडिसीसँग रहेको स्टक, बजारमा पुग्ने रहेको भन्ने आधारमा घोषणाहरु गरिएको हो । अहिलेको वस्तुस्थिति विविध कारणले घोषण भन्दा फरक छ । अहिले कच्चा पदार्थको उपलब्धता छैन । डेरी उद्योग प्रोग्रेसिभ छ । नेपाल सरकारको रेकर्डमा साढे ३ देखि ४ प्रतिशतसम्म वार्षिक उत्पादनमा वृद्धि भइरहेको छ । १२ प्रतिशतले बजारको खपत बढिरहेको छ । किसानलाई प्रोत्साहन गर्दै दूध उत्पादन अझै बढाउन आवश्यक देखिन्छ ।

You might also like

Comments are closed.