महंगो ग्याँस, वर्षेनी बढ्दै आयात

प्रेम पुन्थोकी

काठमाडौं– नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा खाना पकाउने एलपी ग्याँसको मूल्य बढेर आएको सूचना दियो । हाल निगमले प्रति सिलिन्डर ग्याँसको मूल्य १८ सय रुपैयाँ कायम गरेको छ । निगमका अनुसार यो खरीदभन्दा ६३५ रुपैयाँ ५० पैसा घाटाको मूल्य हो । सरकारले अनुदान सहित बजार मूल्य तोक्दै आएको ग्याँसको बजार मूल्य सधै घाटामा देखिन्छ ।

५ वर्षको तथ्यांकमा आयात बढेको बढ्यै

jutta mela

निगमले घाटामा विक्री गर्दै आएको ग्याँस को आयात भने हरेक वर्ष बढेको बढ्यै छ । पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्दा ग्याँसको आयात ४५ प्रतिशतले बढेको देखिन्छ । निगमको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ५ लाख ३६ हजार २८ मेट्रिक टन ग्याँस आयात भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा यो तथ्यांक ३ लाख ७० हजार ५६० टन थियो । ग्याँस आयातको अनुपात हरेक वर्ष बढ्दो अनुपातमा देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा ४ लाख ७७ हजार ७५२ टन, ०७६/०७७ मा ४ लाख ४९ हजार ६३, ०७५/०७६ मा ४ लाख २९ हजार ६०९ टन आयात भएको निगमको तथ्यांक छ ।

भन्सार विभागको तथ्यांक अनुसार गएको ७ महीनामा २ लाख ७३ हजार टन ग्याँस आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो केही कम हो । गएको वर्ष सोही अवधिमा ३ लाख टन ग्याँस आयात भएको थियो ।

जलविद्युत उत्पादन र प्रयोग बढ्दा पनि घटेन ग्याँसको प्रयोग

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता झण्डै २२ सय मेगावाट छ भने माग भने १७ सय मेगावाटको हाराहारीमा रहेको अनुमान छ । पछिल्ला वर्षहरूको अनुपातमा यो माग बढ्दै गएको अनुपात हो । नेपाल विद्युत प्राधिकरण र सरकारका विभिन्न निकायले विद्युत उत्पादनको माग बढ्दै गएकाले यसको प्रयोग बढाउने र अन्य इन्धनको माग घटाउन जोड दिँदै आएका छन् तर प्रयोग घटेको देखिन्न ।

बढेको छ इन्डक्सन चुलोको आयात

नेपाली उपभोक्ताको भान्सामा ग्याँसको प्रयोग बढी हुन्छ । भान्सामा ग्याँसका प्रयोग कम गर्न विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगलाई बढावा दिने गरी सरकारी कार्य योजना बन्दै आएका छन् । इन्डक्सन चूलोको खरीद गर्दा अनुदानको व्यवस्था पनि हुँदै आएको छ । आर्थिक वर्ष ०७९/०८० को ७ महीनामा ८४ हजार ५०० इन्डक्सन चुलोको आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यस्तै अािर्थक वर्ष ०७८/०७९ मा १ लाख १६ हजार ८००, आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ५२ हजार ५००, आर्थिक वर्ष ०७६/०७७ मा १० हजार ४०० , आर्थिक वर्ष ०७५/०७६ मा ६०० र आर्थिक वर्ष ०७४/०७५ मा ५ हजार ६०० थान इन्डक्सन चुलो आयात भएको विभागको तथ्यांक छ ।

You might also like

Comments are closed.