काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले गोर्खाज फाइनान्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५लाख १८ हजार ४ सय २६ रुपैयाँ २७ पैसा आर्थिक सहयोग गरेको छ ।
यस मानवीय अभियानमा संस्थामा कार्यरत कर्मचारीले समेत आफ्नो दुई दिनको तलब बराबरको रकम योगदान गरेका छन् । सहयोग रकमको चेक फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै फाइनान्सले उक्त सहयोग गरेको हो । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फाइनान्सले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो संस्थागत तथा मानवीय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृतले भने “यस्तो विपद्को समयमा वित्तीय संस्था केवल वित्तीय कारोबारमा सीमित रहनु हुँदैन । समाज र समुदायप्रति हाम्रो पनि जिम्मेवारी हुन्छ । यो विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिनु हाम्रो मानवीय तथा संस्थागत दायित्व हो ।”
फाइनान्सले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।



Comments are closed.