प्रि-स्कूलले बालबालिकालाई सिर्जनशील बनाएका छन् : महासचिव बोहरा

मन्टेश्वरी तथा प्रि–स्कूलहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुरयाएका छन् । ५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई उनीहरुको बाल मनोविज्ञानमा आधारित रहेर उनीहरुको सर्वाङ्गिण विकासमा काम गर्ने प्रि–स्कूलको भूमिका, प्रि–स्कूलको गुणस्तर विकास, नीतिगत समस्यालगायतका विषयमा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) का महासचिव कृष्णकुमार बोहरासँग आर्थिक आवाजले गरेको कुराकानी :

नेपालमा प्रि–स्कूलको संख्या कति छ ?
देशभर प्रि–स्कूलको संख्या बढ्दो छ तर संख्यात्मक रुपमा कति छन् भन्ने तथ्यांक राज्यसँग पनि छैन । हामीले विभिन्न स्रोतबाट अध्ययन गर्दा अनुमानित ४ हजार ५ सय देखि ५ हजारसम्म रहेको अनुमान छ ।

यहाँहरु प्रि–स्कूलको संस्थागत नेतृत्व गरेर आउनु भएको छ । छरिएका प्रि–स्कूलको क्षमता विकासका के काम गर्नुभएको छ ?
अपेनले अघिल्लो कार्यकालका प्रिन्सिपलहरुलाई नेतृत्व विकास तालिम, क्यालेन्डर निर्माण तथा शिक्षकको क्षमता विकासको तालिमसमेत दिने काम गरेको थियो । यो कार्यकालमा शैक्षिक मोडालिटीदेखि लिएर, बालबालिकाहरुलाई सामूहिक पृष्ठभूमी निर्माण गर्ने, साझा क्यालेन्डर लागु गर्ने योजनामा छौं ।

jutta mela

यसमा पाठ्यक्रम विकास पनि पर्छ ?
पाठ्यक्रम विकास केन्द्रले एक खालको इसिडि पाठ्यक्रमको खाका निर्माण गरेको छ । प्रि–स्कुलमा यस्तै खालको पाठ्यक्रम हुन्छ भन्न सकिन्न । सर्वाङ्गिण विकासका विभिन्न पक्षहरुलाई विकास गराउनुपर्ने छ । तर हामीले पाठ्यक्रम र प्रि–स्कूलले गर्ने गतिविधिको हकमा एक खालको साझा खाका तयार गर्छौं ।

प्रि–स्कूल नै किताबको बोझ बोकाउन उद्धत छन् भन्ने आरोप छ नि ?
प्रि–स्कूलले किताबमा आधारित भएर अध्ययन गराउने परिपाटी नै गलत हो । किताब बोकाउने कुरामा हाम्रो सहमति छैन । हामीले हाम्रो सदस्यहरुलाई प्रि–स्कूल बुकलेस हुनुपर्छ भन्दै आएका छौं । प्रि-स्कूलिङभित्र कुनै पनि खालको एकेडेमिक संरचना बन्नु हुँदैन । किनभने सामाजिक संवेगात्मक विकासका विभिन्न अभ्यासहरु छन् । दैनिक जीवनमा गरिने धेरै कामका अभ्यासहरु छन् । बालबालिकालाई संस्कार, भाषा, शारीरिक विकास, पोषणयुक्त खानालगायतका कुरामा सहजिकरण गर्न सकिन्छ । आजको आवश्यक बालबालिकाको सर्वाङ्गिण विकास संवेगात्मक विकास, मानसिक, शारिरिक अवस्थालाई मध्येनजर गर्दै अगाडि बढाउनुपर्ने छ । तर, कक्षा अभिभावक अपेक्षा र बालबालिकालाई कक्षा १ मा भर्ना गर्ने बेलासम्म एकेडेमिक अवस्थामा समेत सुधार ल्याउनुपर्ने वाध्यता प्रि–स्कूलसँग छ । बालबालिकाका सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक विकासका पक्षलाई जोड्दै अगाडि जाने मोडालिटी हामीले तयार पार्छौं ।

प्रि–स्कूल मन्टेश्वरी अवधारणलाई आत्मसाथ गरेको दावी गर्छन नि ?
सेकेन्डरी स्कूलको इसिडिको अवधारणा र मन्टेश्वरी बेसका प्रि–स्कूलको शिक्षण शैली फरक छ । समान्यतया मन्टेश्वरी बेसका प्रि–स्कूल किताबमा आधारित छैनन् । उनीहरु क्रियाकलापमा आधारित छन् र किताबमै आधारित भएको अवस्थामा पनि खेलाउँदै सिकाउँदै गरेको अवस्था छ । जस्तो हाम्रो समाजमा अभिभावले पनि पाठ्यपुस्तक माग्ने चलन छ । प्रि–स्कूलले हामी किताब बिना मनोरञ्जनात्मक शैलीबाट व्यवहारिक शिक्षा दिन्छौं भन्दा अभिभावकले त्यसलाई प्रमाणित गर्न चुनौती दिँदै आएको अवस्था पनि छ । पछिल्लो समयमा अभिभावक पनि यस कुरामा बुझ्ने हुनुभएको छ । १० वर्ष अगाडिको इसिडिको अवस्था र अहिलेको अवस्थामा धेरै सुधारिएको छ ।

प्रि–स्कूलको स्रोत र साधनले पनि त्यसको गुणस्तर निर्धारण गर्ने होला नि ?
प्रि–स्कूलमा समग्र रुपमा निजी क्षेत्रको लगानी छ । लगानीको अधारमा स्रोत र साधनसहितको वातावरण निर्माण भएको छ । प्रि–स्कूलको लागि आवश्यक पर्ने आधारभुत कुरा के हो त भन्ने कुरामा प्रायः सबै प्रि–स्कूल सचेत छन् । बच्चालाई खेल्ने ठाउँको व्यवस्थापन, खेल्दाखेल्दै थाकेको अवस्थामा सुत्ने व्यवस्था, स्वास्थ्यवद्र्धक खाजा तथा खानाको व्यवस्था, दैनिक, घरायसीदेखि सांस्कृतिक सहभागिता प्रति जिम्मेवार रहेर संचालनमा आएका प्रि–स्कूलको समग्र अवस्थालाई विश्लेषण गर्दा हामीले राम्रो नै मान्नुपर्छ ।

यस्ता संस्था नाफामुखी बढी सेवा कम भएको गुनासो सुनिन्छ नि ?
केही लगानी गरेर सञ्चालनमा आएका जुनसुकै व्यवसाय नाफामुखी बन्नु स्वभाविकै हो । नाफामुखी नभएको अवस्थामा यो क्षेत्र टिक्न सक्दैन । ५ वर्षमुनीका बालबालिकाको क्षेत्रमा काम गर्नु भनेको राज्यको अबको २५ वर्ष पछिको सक्षम नागरिकको जग बसाउने काम हो । बालबालिकाको शारीरिक, मानसिक, भाषिक, सांस्कृतिक विकासलाई अगाडि बढाउँदै गर्ने जिम्मेवारीका बीच निजी लगानी भएको कारण नाफामुखी हुनु स्वभाविक नै हो । तर अहिलेको अवस्थामा एकाध बाहेक कसैले पनि नाफा कमाउन सकेको अवस्था छैन । हरेक दिन बालबालिकालाई गराउने अभ्यास तथा क्रियाकलापसँग जोडिएका सामग्रीको व्यवस्थापनलाई हेर्ने हो भने उठाउने शुल्क अधिकांश बालबालिकाको विकासमै खर्चिदै आएको भन्न मिल्ने अवस्था छ ।

औपचारिक शिक्षाको सुरुवाती अवस्थामा पुग्दा प्रि–स्कूलका बालबालिकाको स्तर कस्तो देखिन्छ ?
अहिलेको शैक्षिक वातावरणलाई हेर्ने हो भने प्रि–स्कूलबाट आएका बालबालिका सिर्जनशिल, निडर, नेतृत्व लिन मन पराउने, विशेष गरी एकेडेमिक रुपमा पनि एक तहको बलियो जग बनाएर कक्षा १ मा भर्ना हुन गएका छन् । एउटा बच्चामा अनेक खालको खुबी हुन्छ । प्रि–स्कुलबाट कक्षा १ मा जाँदा अन्तरघुलन तथा जस्तोसुकै परिस्थितिसँग जुध्न सक्ने गुणस्तर निर्माण भएको छ ।

You might also like

Comments are closed.