जाल्पा र किसान लघुवित्तको एकीकृत कारोबार ‘मातृभूमि’ नामबाट सुरु

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार सुरु भएको छ । आजबाट दुवै संस्थाले एकीकृत कारोबार सुरु गरेका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त र लम्कीचुहा नगरपालिका वडा नं. ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त मर्जर भइ ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लि.’ नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्रमुख अतिथि डिपुटी गभर्नर बमहादुर मिश्रले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

मर्जर पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु ७४ करोड ३३ लाख, शाखा संख्या २३६, सदस्य संख्या २ लाख १६ हजार, ऋणि संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब एक लाख पुगेको छ ।

मर्जरसँगै संस्थाको अध्यक्षको जिम्मेवारी लोकराज शर्माले र निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक आचार्यले प्राप्त गरेका छन् ।

दुई संस्था गाँभिए पश्चात केन्द्रीय कार्यालय साविक किसानको केन्द्रीय कार्यालय रहेको आफ्नै भवन लम्कीचुहा कैलालीमा रहेको छ । कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा स्थापना भएको छ ।

दुई संस्था मर्जरसँगै लघुवित्तको क्षेत्रमा बलियो संस्थाको उदय भएको निमित्त प्रमुख कार्यकारी अधिकृत आचार्यले विश्वास व्यक्त गरे ।

एकीकृत वित्तीय कारोबारको शुभारम्भको अवसर अध्यक्ष लोकराज शर्माले सबैप्रति आभार व्यक्त गरेका छन् । ‘वित्तीय संस्थाको सञ्चालक समिति, शेयरधनी, सेवाग्राही, नियामक निकाय, पूर्व सञ्चालक, मर्जर समिति, कर्मचारी मित्रहरू, शुभचिन्तक एवं सरोकारवाला सबैमा बधाई ज्ञापन गर्दै विगतमा यहाँहरूले दिनु भएको साथ–सहयोग, सुझाव सल्लाह, सद्भाव एवं मार्गदर्शन प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दुरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनेछ र नेपालको एक सवल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

You might also like

Comments are closed.

Secret Link