रामपुरमा श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास तालिम शुरु

रामपुर (पाल्पा) । पाल्पाको श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिम शुरु गरेको छ । नगरपालिकाले सडक मर्मतकर्मीका लागि ५० दिने तालिम शुरु गरेको हो ।

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिमको आयोजना गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं. २, ४, ६, ७ र ८ नम्बर वडाबाट छनौट भएका सडक मर्मतकर्मीका लागि ५० दिने जीवन उपयोगी सीप र कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडा/वडाबाट छनौट भएका सुचिकृत वेरोजगारलाई तालिम दिइएको छ । तालिममा सहभागिलाई १० दिने जीवन उपयोगी सीप र ४० दिन कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ । मंगलबार तालिमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले मानिसको जीवनमा सीप महत्वपूर्ण हुने बताए । ज्ञान र सीपलाई पैसासंग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास गर्न आवश्यक रहेको उनी बताउँछन् । आफुसंग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने उनले बताएका छन् ।

रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले दक्षता र सीपले मानिसलाई सफल बनाउने भन्दै आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताएका छन् । उनले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेको भन्दै तालिममा सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गरेका छन् । नगरपालिका रोजगार शाखा प्रमुख गणेशप्रसाद रेग्मीले सडक मर्मत र जीवन उपयोगी सीप विकासका लागि तालिमको आयोजना गरिएको बताए ।

यसैगरी लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीका प्रबन्धक अरुण अर्यालले तालिममा सडक मर्मतसंग सम्बन्धित विभिन्न सीप सिकाइने बताउँदै निरन्तर रुपमा सहभागि भई दक्ष बन्न आग्रह गरेका छन् । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा ५० दिन सम्म चल्ने तालिम अन्तर्गत १० दिन सम्म दैनिक जीवनसंग जोडिने विषय र ४० दिन कार्यस्थलमा गई पर्खाल लगाउने, सडक मर्मत कसरी गर्ने, सुरक्षा, उपकरणको प्रयोग लगायतका विविध विषयमा सीप सिकाइनेछ ।

वडा नं.२, ४, ६, ७ र ८ का ४० श्रमीकको सहभागिता रहेको तालिमको सहजिकरण लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युटका प्रशिक्षक जनकराज अर्यालले गरेका छन् । वडा नं.५ का वडाध्यक्ष पोखरेलको अध्यक्षतामा नगर सभाहलमा भएको तालिम उद्घाटन कार्यक्रम रोजगार शाखा प्रमुख रेग्मीको स्वागत र रोजगार सहायक चिरिञ्जिवि सिग्देलको सञ्चालनमा सम्पन्न भएको हो ।

 

You might also like

Comments are closed.