गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु ३ लाख आम्दानी गरिन् । यस वर्ष रु ४ लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् ।
त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताएका छन् । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु १२५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु १२५ मा बिक्री ग¥यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ”, घिमिरेले भने ।
उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् । विगत ५ वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु १२५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए ।
एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु १२५ मा खरिद गरेको अम्रिसो पोखरामा रु १६०, चितवनमा रु १९० र काठमाडौंमा २ सयमा बिक्री गर्ने गरेको उनले बताएका छन् । रासस
Comments are closed.