गण्डकीका कृषि सचिव दवाडीद्वारा पदवहाली

पोखरा,२८ चैत ।
कर्मचारी समायोजनमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका सहसचिव दुर्गाप्रसाद दवाडीले आज पदबहाली गरेका छन् ।

यसअघि राष्ट्रिय किसान आयोगको सदस्यसचिवको रुपमा कार्यरत रहेका चितवनका दवाडीको कर्मचारी समायोजन प्रक्रियामा संघमा समायोजनपछि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन गरिएको हो ।

मन्त्रालयमा उनलाई मन्त्री लेखबहादुर थापामगर, निर्वतमान सचिव शरदचन्द्र श्रेष्ठ, कृषि विकास निर्देशनालयका निर्देशक डा।विमल थापा, मन्त्रालयका महाशाखा प्रमुखहरु, कर्मचारी लगायतले स्वागत गरेका थिए । पदवहालीपछि सचिव दवाडीले मन्त्रालयले तर्जुमा गरेका कार्यक्रमलाई परिणाममूखी हिसाबले अघि बढाउने बताए।

उनले भने,‘प्रदेशमा धेरै कार्यक्रम भएको देखियो । सकेसम्म अलिकति आउटपुटलाई हेरेर कार्यक्रम अघि बढाउने सोच छ । कार्यक्रमले के फाईदा दिन्छ र दिगोपना हेरेर अघि बढाउँछौँ।’

प्रदेश मन्त्रालय स्थापनादेखी मन्त्रालयको सचिवको रुपमा कार्यरत शरदचन्द्र श्रेष्ठको संघमा समायोजन भएको छ । साविक क्षेत्रीय कृषि निर्देशनालयको निर्देशकको रुपमा कार्यरत श्रेष्ठ प्रदेश कृषि मन्त्रालय स्थापनापछि सचिव भएर १३ महीना काम गरे ।

श्रेष्ठको कार्यकालमा कृषि तथा पशुपन्क्षी विकासका लागि प्रदेशमा मोडल फार्म, नमूना कृषि गाउँ कार्यक्रम लगायतका योजना अघि बढेको थियो ।

कृषि मन्त्री लेखबहादुर थापामगरले कर्मचारी समायोजनबाट एक जना अनुभवि सचिवलाई मन्त्रालयबाट विदाई गर्नुपरेको बताए। प्रदेशको पशुपन्क्षी तथा कृषि विकासमा श्रेष्ठको योगदान स्मरण गर्दै मन्त्री थापाले भने,‘शरद सरले मन्त्रालय स्थापनादेखी जुन योगदान गर्नुभयो, त्यो मन्त्रालयका लागि अविस्मरणीय छ ।कर्मचारी समायोजनको बाध्यताले उहाँजस्तो एक जना अनुभवि व्यक्तिलाई हामीले विदाई गर्नुपर्ने अवस्था आयो।’

You might also like

Comments are closed.