कर्णाली । शिक्षा क्षेत्रका सरोकारवालाले बालबालिकाको गुणस्तरीय पठनपाठनका लागि विद्यालयभित्र र बाहिर भयमुक्त वातावरणको खाँचो औँल्याएका छन् । भिएसओ नेपालको सहयोगमा आसमान नेपाल तथा शिक्षा पत्रकार समाजको आयोजनामा वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय कार्यशालाका सहभागीहरूले विद्यालय शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्न सुरक्षित सिकाइमा जोड दिएका हुन् ।
भिएसओ नेपालका समावेशी शिक्षा शाखाप्रमुख आनन्द पौडेलले सुरक्षित सिकाइ परियोजनाले सरकारी तथा गैरसरकारी निकायबाट तर्जुमा गरिएका नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था, देखिएका चुनौती, विद्यालयमा हुने दण्ड सजाय, लैङ्गिक तथा जातीय विभेद र हिंसाले पारेको असरबारे विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको बताए । “अभिभावक, शिक्षक, विद्यार्थीलगायत सरोकारवालालाई सुरक्षित सिकाइका क्रियाकलापबारे सुसूचित गर्न जरुरी छ”, उनले भने, “यसका लागि सुरक्षित विद्यालय र भयमुक्त समाज हुनुपर्दछ, सबै विद्यालयले सुरक्षित विद्यालयको अवधारणा ल्याउनुपर्छ ।”
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले न्यून बजेटका कारण शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताए । सुरक्षित सिकाइ कार्यक्रम अवधि छोटो भएको भन्दै उहाँले शिक्षा क्षेत्रमा लगानीका कार्यक्रम थप बढाउन गैरसरकारी संस्थाहरूलाई आग्रह गरे । भेरीगङ्गा नगरपालिकाका शिक्षा शाखाप्रमुख धीरेन्द्रप्रसाद शर्माले शिक्षाका समस्यालाई मिडियाले कम प्राथमिकता दिने गरेका कारण यस क्षेत्रका समस्या ज्यूँका त्यूँ रहेको धारणा राखे ।
“मिडियाले सवालहरूबारे निरन्तर बहस चलाउनुप¥यो, शिक्षा ऐन नबन्दा परिपत्रका भरमा शिक्षा प्रशासन चलेको छ”, शर्माले भने, “शिक्षा क्षेत्रमा थुपै्र नीतिगत अन्योलता हुँदासमेत मिडियाको कभरेज बढ्न सकेन ।” शिक्षा शाखामा जनशक्ति नहुँदा विद्यालय अनुगमन प्रभावकारी हुन नसकेको गुनासो गरे । स्थानीय तहले पाठ्यक्रम र सुरक्षित सिकाइ योजना निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले निजी स्कूलका बालबालिकाले असुरक्षित भएर पढ्नु परेको बताउँदै उनले भने, “सुरक्षित सिकाइका क्रियाकलाप निजी स्कूलले पनि पालना गर्न बाध्य गराउनुपर्छ ।” भेरी माविका प्रधानाध्यापक रत्न बुढाले समाजमा शिक्षकलाई हौसलाभन्दा पनि अपमान गर्ने गरिएको भन्दै प्रोत्साहनका गतिविधि सञ्चालन गर्न जोड दिए ।
आसमान नेपालका यादव भुसालले स्थानीय तहले शिक्षामा कम लगानी गरेको, बालविवाहबारे गम्भीर नभएको, हिंसाका घटनामा राजनीति दबाब आउने गरेको लगायतका विषयमा प्रस्तुतीकरण गरे । कार्यशालामा कोभिड–१९ पछि शिक्षामा देखिएको समस्या, बालमैत्री स्थानीय शासनको अवस्था, विद्यालयभित्र र बाहिर हुने विद्यार्थीमाथि हुने हिंसा, भययुक्त वातावरण, सुरक्षित सिकाइको प्रभावकारिता लगायतका विषयमा सरोकारवालाबीच छलफल भएको थियो । कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, शिक्षाका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
भिएसओ नेपालले पाँच जिल्लाका ६९ जिल्लामा सुरक्षित सिकाइ परियोजना सञ्चालन गरेको छ । सुरक्षित सिकाइका विभिन्न गतिविधि, विद्यालय सुशासन, विद्यालयलाई ल्यापटप, विद्यार्थीको अभिलेखीकरण, १४ हजारभन्दा बढी बालिकालाई आत्मसुरक्षा तालीम, नीतिगत सुधारका लागि छलफल गर्दै आएको उक्त संस्थाले जनाएको छ ।
Comments are closed.