धरान । विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा शुक्रबार यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठनका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
कोभिड–१९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नुपर्ने तथा र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारीहरु यसअघि नै आन्दोलित भएका थिए ।
पदाधिकारीहरूले आश्वासन दिए पनि कर्मचारीको विषयमा चासो नदिएकाले तालाबन्दी गर्नुपरेको कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाले जानकारी दिए ।
“पदाधिकारीहरु ठेक्कापट्टाको कमिसनमा मात्र चासो राख्नु हुन्छ, हामी कर्मचारीको माग सुन्दैनन् । वैशाख १४ गते लिखित दिएको मागबारे सुनुवाइ भएन । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले तालाबन्दी गर्न बाध्य भएका हौँ”, कोइरालाले भने । माग पूरा नभएसम्म ताला नखोलिने उनको भनाइ थियो । कर्मचारीले ‘कर्मचारीको शोषण बन्द गर’, ‘कोभिडको रकम उपलब्ध गराउ’, ‘कर्मचारीलाई भेद्भाव नगर’ जस्ता नारावाजीसमेत गरेका थिए ।




Comments are closed.