संकलन गरेर नहुनेलाई निःशुल्क कपडा

सन्देश श्रेष्ठ

पोखरा ९ नयाँबजारकी सुनिता घरबाट बाहिर के निस्केकी थिइन् घर नजिकै पसल देखिन् । सँधै खुल्ला रहने शान्ति वन वाटिका प्रवेश गर्ने मूल गेट अगाडि नै पसल देखेर उनी छक्क परिन् । त्यो देख्ने वित्तिकै उनका आँखा पसलमा टक्क अडिए । एकाएक खुलेको पसलमा नयाँसँगै पुराना कपडाहरु देखेर उनको मनमा खुल्दुली चल्यो । त्यसपछि पसल नजिकै गएर आफ्नो जिज्ञाशा पसलमा बसेकाहरुलाई सोधिन् । पसलमा बस्नेहरुले निःशुल्क वितरण गर्ने भनेपछि उनलाई मन परेको साडी र बच्चाहरुलाई जामा, टिसर्ट र केहि थान कट्टु झोलामा हालिन् । तीजमा के लाउँ र के खाउँ भइरहेका बेला निःशुल्क कपडा पाएपछि उनको खुशीको सीमा थिएन । उनलाई ठूलै खड्गो कटेजस्तो भो । खुशीले फुरुङ्ग भएकी उनको खुशी मुहारमा प्रष्टै देखिन्थ्यो ।

सुनिता मात्र होइन, त्यहाँ आउने धेरैले यसरी नै निःशुल्क सामान लगे । उनीहरुपनि सुनिताजस्तै दंग पर्दै घर फर्किए । लाग्थ्यो यहाँ पुन्यको काम हुँदैछ । जसले हरेकको मुहारमा खुशी छर्दैछ ।

jutta mela

यसरी एउटा गाउँलाई नै खुशी दिने काम मानवीय सेवा अभियानले गरेको हो । जसले निःशुल्क कपडा वितरण गर्दै आएको छ । शुरु शुरुमा गरीब तथा असहायःहरुलाई निःशुल्क भोजन गराउँदै आएको मानवीय सेवा केन्द्रले यस वर्षको साउनको पहिलो सोमबारदेखि निःशुल्क कपडा वितरणपनि शुरु गरेको हो । हाल फरक÷फरक ठाउँमा स्टल राखेर कपडा वितरण गर्ने गरिएको छ । सँधै एउटै मान्छे नआओस् भनेर फरक÷फरक ठाउँमा कपडा वितरण गर्ने गरिएको हो ।

यो अभियान अन्तर्गत हुनेले कपडा दिन्छ भने नहुनेले आफूलाई आवश्यक कपडा निःशुल्क लैजान पाउँछ । कपडा दिनेले नया तथा पुराना सबै किसिमका कपडा दिनसक्छ । अनि लिनेलेपनि आफूलाई मनपर्ने कपडा रोजेर लान पाउँछ । कपडा लैजानेले आफूसहित परिवारका सबै सदस्यका लागि लैजान पाउने मानवीय सेवा अभियानकी संयोजनकर्ता सुष्मा पौडेलले बताइन् । उनले भनिन्,‘लानेलाई आवश्यक्ता अनुसार आफूले चाहेजति लैजान पाउँछ, तर साडी भने एक जनालाई एउटा मात्रै दिन्छौं ।’ अन्य कपडा परिवारका अन्य सदस्यका लागि लैजाने भएकाले चाहेजति लैजान दिएको तर साडी एक जनालाई एउटा भएपनि पुग्ने भएकाले कोटा निर्धारण गरेको उनको प्रष्टोक्ती छ ।

कपडा संकलनका लागि पोखरा–१७ सुन्दर मार्गस्थित मानव मिलन केन्द्रमा कोठा लिइएको छ । आम सर्वसाधारणले त्यहाँ पुगेर कपडा दान गर्न सक्ने पौडेलले बताइन् । त्यस्तै पोखरा–६ केदारेश्वर मन्दिरको सचिवालयमा पनि कपडा संकलन गर्ने गरिएको उनको भनाई छ । त्यसबाहेक पोखरा–विरौटास्थित एमबी कम्प्लेक्समापनि एउटा सटर भाडामा लिएर कपडा संकलन गर्न थालिएको पौडेलले बताइन् । उसो त निःशुल्क कपडा वितरणका लागि खोलिएको पसलमैपनि कपडा संकलन गर्ने गरिएको उनले बताइन् ।

हाल निःशुल्क कपडा वितरण गरिरहेको यो समूह करीब ७ वर्षअघी भडिकलो तीज बिरुद्ध अभियानबाट सामाजिक अभियानमा लागेको हो । भड्किलो तीजले घरमा कलह सृजना गर्नुका साथै सांस्कृतिक पर्वलाई विकृतितर्फ लैजाने भन्दै सचेतना जगाउँदै हिंडेको यो समूहले केहि समयपछि न्यानो कपडा वितरण अभियान पनि सञ्चालन गरेको थियो । उक्त अभियान अन्तर्गत चेपाङ बस्तीदेखि कर्णालीसम्म पुगेर न्यानो कपडा वितरण गरेको थियो । पछि साउन महिना भरी गरीब तथा असहायःलाई भोजनसमेत गराउँदै आएको यो समूहले निःशुल्क कपडा वितरणलाई अब दीर्घकालिन रुपमा लैजाने सोंच बनाएको छ ।

मान्छे पैसा कमाउनका लागि के गर्दैन ? व्यापार, व्यवसाय गर्छ, उत्पादन गर्छ, उद्योग चलाउँछ, जागिर खान्छ, अर्थात मान्छे पैसा कमाउनका लागि अनेक अनेक गर्छ । त्यतिमात्र कहाँ हो र ? मान्छे पैसा कमाउनका लागि चोरी गर्छ, डकैती गर्छ, ठगी गर्छ अर्थात मान्छे पैसाका लागि सबथोक गर्न पछि पर्दैन । तर यहि समाजका मान्छे समाज सेवामा पनि उत्तिकै लागिरहेको हुन्छ । त्यसको उदाहरण हो मानवीय सेवा अभियान ।

लाउन नपाएकालाई लाउन दिने हाम्रो अभियान हो,‘अभियानकी संयोजनकर्ता सुष्मा पौडेलले भनिन्,‘यसको मूख्य उद्धेश्य कोहिपनि नाङ्गो नहोस् भन्ने हो ।’ चाँडपर्वमा एकजोर कपडा लाउन पाउँदा उनीहरुलाईपनि चाँडपर्व मनाएको आभाष मिलोस् । उनले हुनेले दिनुपर्छ भन्ने भावनाको विकास गराउनेपनि यसको उद्धेश्य भएको बताइन् । भनिन्,‘आफूले लगाईसकेका कपडा दराजमा त्यसै थन्किएका हुन्छन्, जुन अरुलाई दिइयो भने पाउनेको मुहारमा खुशी छाउँछ ।’ उसो त नया कपडा किनेर पनि दिन पाउँछन् । नया किन्नेले पुरानो उपहार दिदा दिने र लिने दुबै खुशी हुने उनको भनाई छ ।

अभियानलाई पोखरेलीले खुब मन पराएका छन् । रत कपडा दान गर्नेहरु पनि उत्तिकै छ । यसले आफूहरुलाई समाजसेवामा लाग्न उत्प्रेरणा प्रदान गरेको उनले बताइन् ।

You might also like

Comments are closed.