काठमाडौं । यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी-२० शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुने भएका छन् ।
थाइल्याण्डमा हुने राष्ट्रपति सी एशिया प्रशान्त-आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् ।
कोभिड–१९ को महामारी र चिनियाँ कम्युनिष्ट पार्टीबाट महासचिवमा पुनः निर्वाचित भएपछि हुन लागेको यो भ्रमणले चीन र उदीयमान अर्थतन्त्र भएका देशको सम्बन्धलाई अझ सघन तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अन्य नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता झाओले बताएका छन्।
राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको नेताका रूपमा तेस्रो पाँच वर्षको कार्यकाल पाएपछि अमेरिका र अन्य शाक्तिराष्ट्रका नेतासँग व्यापारलगायत क्षेत्रीय एवम् अन्तर्राष्ट्रि चासोका विषयमा सघन छलफल हुने अपेक्षा गरिएको छ। रासस
Comments are closed.