महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज  बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ ।

बैंकले सो अन्तर्गत बिगतका वर्षमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमलाई एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पु¥याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।

यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल रू ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी (MOU) गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । यसैगरी बैंकले आगामी ५ वर्ष सम्ममा रू १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

कोषमार्फत सोही विश्वविद्यालयबाट STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाले छात्रवृत्ति प्राप्त गर्नेछन् । यस कार्यक्रमबाट छात्रवृत्ति प्राप्त गर्ने महिलाको संख्या वर्षेनी बढाउँदै लगिने बताइएको छ । यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस) हाल अध्ययनरत छन् ।

यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयमा अध्ययनरत योग्य छात्रालाई यस्तै प्रकारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्रालाई अन्य क्षेत्रमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ ।

यी प्रयासले लक्ष्मी सनराईज बैंकको ‘शिक्षित लक्ष्मी’ मार्फत शिक्षाको प्रवद्र्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ । लैङ्गिक समानतालाई आत्मसात गर्दै विभिन्न क्षेत्रमा महिलाको उत्थानमा टेवा पु¥याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

You might also like

Comments are closed.